तपाईँ सुन्दै हुनुहुन्छः

भीषण बर्षा र हावाहुरीले चितवनका धानबालीमा क्षति

चितवन– मंगलबार बेलुका आएको भीषण हावाहुरी र बर्षाका कारण चितवनका अधिकांश धानबालीमा क्षति पुगेको छ । बाला लागेर झुल्न लागेको धानमा हावाहुरी र बर्षा एकैपटक आउंँदा ठुलो क्षति पुगेको बताईएको छ ।

जिल्लाका अधिकांश क्षेत्रमा यसको असर परेपनि मुख्यतया धानको पकड क्षेत्र पुर्वी चितवनका धानको बोट र बाला हावाहुरी र बर्षाले झारेको छ । सबैजसो किसान दशैंको टीकाको दिनमा व्यस्त भएपनि भोलीपटक धानबारीमा गएर हेर्दा अधिकांश धानका बोट कामनै नलाग्ने गरी ढलेको उनीहरु बताउंँछन ।

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर १, देखी ६ वडामा बाला झुलेको धानबालीमा हावा र बर्षाका कारण बोट र बाला झरेको स्थानीय कृषक अगुवा धर्मराज कंडेल बताउंँनुहुन्छ । ‘अन्य वडामा पनि असर परेको छ,उहांँले भन्नुभयो, मेरोपनि आधा विघा धानमा क्षति भएको छ ।’ उहांँको जस्तै अन्य किसानको पाक्न लागेको धानमा क्षति पुगेको छ । राप्ती नगरपालिका वडा नम्बर ६ का दिपक त्रिपाठीको पनि एउटा धान ठाडो छैन । ‘धान पनि सबै ढल्यो, बालापनि काम लाग्ने अवस्थामा छैन’ उहांँले भन्नुभयो ।

राप्ती नगरपालिका लगायत रत्ननगर नगरपालिकाका अधिकांश झुल्न लागेका धानमा हावाहुरी धान ढलाएर सोत्तर पारेको छ । रत्ननगरनगरपालिका वडा नम्बर ६ का किसान होमनाथ सापकोटा भन्नुहुन्छ , ‘ रातभरी जाग्राम भएर गैंडाको मुखबाट जोगाएको धान, क्षणभरमै हावाहुरीले सखाप पार्यो ।’ यसभन्दा अघि अविरल बर्षाले धानमा केही क्षति नभएपनि मंगलबार बेलुका हावाहुरी र घनघोर बर्षाका कारण धान काम नलाग्ने अवस्थामा रहेको उहांँले बताउनुभयो ।

तर पूर्वी चितवनमा भन्दा पश्चिम चितवनमा केही ढिला धान रोप्ने गरिएकोले त्यस्तो क्षति नभएको भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चित्रसेन अधिकारी बताउनुहुन्छ ‘ हावाहुरी र पानी त बेस्सरी आएको थियो , तर धान छोटो भएकाले ढल्न पाएन’ उहांँले भन्नुभयो ।
कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लामा गरिमा, गोरखनाथ, युएस ३१२ जातका आयातीत हाइब्रिड र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावा मन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेका छन ।

गत वर्ष धान एक लाख १९ हजार ७०० मेट्रिकटन र चैते धान २६ हजार मेट्रिकटन उत्पादन भएको कार्यालयले जनाएको छ । यस वर्ष पाँच हजार हेक्टरमा चैते धान लगाइएको थियो भने वर्षे धान २८ हजार ५०० हेक्टरमा लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button