तपाईँ सुन्दै हुनुहुन्छः

भारतको महाराष्ट्र र हरियाणामा विधानसभाको चुनाव सुरु

भारत । भारतका दुई राज्य हरियाणा र महाराष्ट्रमा आज नयाँ विधानसभाका लागि चुनाव शुरु भएको छ । महाराष्ट्रमा भाजपा र शिवसेना गठबन्धनको सरकार छ भने हरियाणामा भाजपाको बहुमतसहितको सरकार छ ।

महाराष्ट्रको २८८ सिटयुक्त विधानसभाको कार्यकाल नोभेम्बर ९ मा सकिँदैछ । सोमबार सबै २८८ सिटका लागि मतदान भइरहेको छ । हरियाणा विधानसभाको कार्यकाल नोभेम्बर २ मा समाप्त हुँदैछ । कुल ९० सिट रहेको हरियाणा विधानसभाका सबै सिटका लागि सोमबार नै मतदान शुरु भएको छ ।

मतगणना अक्टोबर २४ हुनेछ । महाराष्ट्रका ८९५ लाख मतदाताका लागि ९५ हजार ४७३ मतदान केन्द्र तय गरिएको छ । यस्तै हरियाणाका १८२ लाख मतदाताका लागि १९ हजार ४२५ मतदान केन्द्रको व्यवस्था गरिएको चुनाव आयोगले उल्लेख गरेको छ ।

महाराष्ट्रमा भाजपा–शिवशेना गठबन्धन र कांग्रेस–एनसिपी (नेशनलिस्ट कांग्रेस पार्टी) गठबन्धनबीच मुख्य चुनावी प्रतिस्पर्धा भएको छ । यसैगरी हरियाणामा सत्तारुढ भाजपा, कांग्रेस इन्डियन नेशनल लोकदल (ओमप्रकाश चौटाला) र जननायक जनता पार्टीबिच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै सोमबार नै १८ राज्यका ५१ विधानसभा सिट र लोकसभाका दुई सिटका लागि उपचुनाव हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button