तपाईँ सुन्दै हुनुहुन्छः

‘गरिबी र अभावबाट पिडित जनताको चाहना अनुरुप सरकार अगाडी बढ्नुपर्छ’

वीरगञ्ज – नेपाल कम्युनिष्ट पार्टीका बरिष्ट नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले  गरिबी र अभावबाट पिडित जनताको चाहना अनुरुप सरकार अगाडी बढे मात्र समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार हुने बताउनु भएको छ ।

पार्टीको कार्यक्रमको शिलसिलामा आज विरगंजबाट लहान जाने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै नेता नेपालले भ्रष्ट व्यक्ति कम्युनिष्ट पार्टीका नेता हुन नसक्ने बताउनुभयो । उहाँले असल आचरण र नैतिकता कम्युनिष्टको सम्पति भएको बताउदै भ्रष्ट आचरण र नैतिकहिन व्यक्तिको कम्युनिष्ट हुन नसक्ने दावी गर्नुभयो ।

नेता नेपालले हाल केही व्यक्ति कम्युनिष्ट पार्टीमा घुसपैठ गरी संगठनलाई सिध्याउने रणनीतिमा लागेको बताउदै त्यस्तालाई छोडन नहुने दावी गर्नुभयो ।

उहाँले वर्तमान सरकार ईतिहासकै बलियो सरकार भएकोले कम्युनिष्ट पार्टीले ठुलो मौका पाएको र यो अवसरलाई भरपुर सदुपयोग गर्नुपर्ने धारणा राख्नु हुदै मधेसलाई मरुभुमिबाट बचाउन चुरे संरक्षण अभियान, तराई मधेश समृद्धि कार्यक्रम, लगायत मधेसको बिकासका लागि सरकारले थुप्रै योजना ल्याएको खुलासा गर्नुभयो ।

उहाँले तल्लो तहमा पार्टी एकिकरणको काम अन्तिम चरणमा पुगेको भन्दै अब छिटै पार्टीले पुर्णता पाउने बताउनुभयो । एक फरक प्रसंगमा नेता नेपालले निजगढ अन्तर्राष्ट्रिय विमान स्थल र काठमाण्डौ निजगढ फास्ट ट्रयाक प्रदेश २ को विकास निर्माणको मेरुदण्ड भएको बताउदै यसको निर्माणका लागि दलगत स्वार्थ भन्दा माथि उठेर सबै जुट्नु पर्ने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button