तपाईँ सुन्दै हुनुहुन्छः

जनता आवास कार्यक्रम : प्रदेश ३ मा २ हजार २ सय ४६ घर निर्माण हुँदै

मकवानपुर ।   जनता आवास कार्यक्रम अन्तर्गत ३ नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षमा २ हजार २ सय ४६ घर निर्माण गर्ने भएको छ । प्रदेशका १० जिल्लामा उक्त कार्यक्रम अन्तरगत विगतदेखि स्थायीरूपमा बसोबास गरेका राष्ट्रिय दलित आयोगको सूचीमा सूचीकृत भएका दलित, विपन्न, लोपोन्मुख र अति सीमान्तकृत जाति वा समुदायका विपन्न वर्ग लक्षित गरी कार्यक्रम ल्याएको हो ।

प्रदेश ३ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु वर्षमा १० जिल्लामा २ हजार २ सय ४६ घर निर्माण गर्न ४३ करोड बजेट विनियोजन गरेकोको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा मकवापनुर जिल्लामा ६ सय ५०, चितवन जिल्लामा ७ सय ६६, सिन्धुपाल्चोक जिल्लामा ५०, काभ्रेमा ५०, दोलखामा ५०, सिन्धुलीमा ५०, रामेछाप ५०, नुवाकोट २ सय, धादिङ ३ सय ३० र रसुवामा ५० ओटा घर निर्माणको काम क्रमागत रहेको मन्त्रालयले जनाएको छ । साथै काभ्रे जिल्लामा जेष्ठ नागरिक भवन निर्माणको लागि प्रदेश ३ सरकारले चालु वर्षमा १ करोड बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले उक्त भवन निर्माणको लागि ३ करोड बजेट छुट्टाएतापनि कुल १ करोड ५७ लाख ४३ हजार मात्र खर्च भएको थियो ।

अघिल्लो आर्थिक वर्षमा जनता आवास निर्माणको लागि प्रदेश सरकारले २८ करोड ४४ लाख ७४ हजार बजेट विनियोजन गरेकोमा १३ करोड ४२ लाख ५८ हजार खर्च भएको इन्जिनियर सुजन खतिवडाले जानकारी दिनुभएको छ ।

प्रदेश सरकारले जनता आवास निर्माण कार्य प्रभावकारी सुुचारु गर्न काठमाडौं, मकवानपुर, चितवन, नुवाकोट, काभ्रे र सिन्धुलीमा भवन कार्यालय स्थापना गरी कार्य संचालन गरिरहेको छ । प्रदेश सरकारलाई संघले जिम्मेवारी हस्तान्तरण गरेसँगै जनता आवास कार्यक्रमको कार्य्विधी बनाई प्रदेशले संचालन गरिरहेको छ । २०७४ साल साउन २२ गते भन्दा अगाडि छनौट भएका लाभग्राहिहरुले आवास कार्यक्रमबाट अनुदान प्रप्त गरेका छन् । नेपाल सरकारले गरिब, दलित, लोपोन्मुख, सिमान्तकृत तथा विपन्न नागरिकहरुलाई लक्षित गरी जनता आवास कार्यक्रम ल्याएको हो । प्रदेश सरकारले हाल ३ किस्तामा आवास निर्माण रकम उपलब्ध गराउँदै आएको छ ।

सुचिमा रहेका लाभग्राहिले कुल ३ लाख ५० हजार रकम अनुदान प्राप्त गर्नेछन् । सरकारले पहिलो किस्तावापत २५ प्रतिशत, प्लिन्थ लेभलसम्म काम भएपछि ६० प्रतिशत र घरमा झयाल, ढोका र अन्य काम सम्पन्न भएपछि १५ प्रतिशत रकम उपलब्ध गराउँदै आएको ईन्जिनियर खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button