तपाईँ सुन्दै हुनुहुन्छः

ट्वीटरले राजनीतिक विज्ञापन हटाउने

वासिङ्टन – विश्वकै लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरले आफ्नो प्लेटफर्मबाट राजनीतिक विज्ञापन स्वीकार नगर्ने बुधबार घोषणा गरेको छ । राजनीतिक व्यक्तिहरुबाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुने गरेको भन्दै सबै क्षेत्रबाट चासो व्यक्त भएपछि उक्त निर्णय गरिएको ट्वीटरले जनाएको छ ।

ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सेले ट्वीट गर्दै इन्टरनेट विज्ञापन निकै सशक्त र ज्यादै प्रभावकारी देखिए पनि यो शक्तिलाई राजनीतिक व्यक्तिहरुले दुरुपयोग गर्ने सम्भावना बढी देखिएको बताउनुभएको छ । उहाँले यही हतियारका आधारमा लाखौं जनतालाई मतदानका बेला दिग्भ्रमित पार्ने खतरा रहेको उल्लेख गर्नुभएको छ ।

अर्को सामाजिक सञ्जाल फेसबुकमाथि पनि राजनीतिक विज्ञापन गर्नुअघि तथ्य–जाँच गर्न तिब्र दबाब परेको छ ।

डोर्सेले नयाँ नीति बमोजिम राजनीतिक मामिलाका साथै उम्मेदवारका सबै विज्ञापनमाथि रोक लगाइने छ । उहाँले अर्को महिना विज्ञापनसँग सम्बन्धित विस्तृत विवरण सार्वजनिक गरिने र आगामी नोभेम्बर २२ देखि यो नीति लागू हुने पनि उहाँले जानकारी दिनुभयो ।

तर फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले राजनीतिक विज्ञापन फेसबुकका लागि ठूलो आम्दानीको स्रोत नभएको बताउँदै राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउँदा बहालवाला राजनीतिक व्यक्तिलाई नै फाइदा पुग्ने दाबी गर्नुभएको छ । प्रतिबन्धले स्वतन्त्र र नयाँ “आवाज”लाई दबाउने जुकरबर्गको तर्क छ ।

तर डोर्से भने जुकरबर्गको तर्कसँग सहमत हुनुहुन्न । डोर्सेले कुनै राजनीतिक विज्ञापन बेगर पनि ठूला र धेरै सामाजिक अभियानहरु सञ्चालनमा आएको बताउनुभयो ।

“अमेरिका र विश्वकै लोकतन्त्रको रक्षाका लागि यो सही निर्णय हो,” सन् २०१६ की राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनले ट्वीट गर्नुभएको छ । “फेसबुकको भनाई के छ रु” क्लिन्टनले प्रश्न गर्नुभएको छ ।
रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button