तपाईँ सुन्दै हुनुहुन्छः

जापानमा एक हप्ताभित्र दोस्रो मन्त्रीद्वारा राजिनामा, प्रधानमन्त्रीलाई धक्का

टोकियो, जापान । जापानका न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजिनामा दिनुभएको छ । एक हप्तामा दुई जना मन्त्रीको राजिनामापछि प्रधानमन्त्री सिन्जो आवेलाई ठूलो धक्का लागेको छ ।

कावाईकी पत्नीले निर्वाचन कानूनको उल्लङ्घन गरेको आरोपपछि न्यायमन्त्री कावाईले नैतिकताका आधारमा राजिनामा दिनुभएको हो ।

जापानी साप्तिाहिक पत्रिका शुकान भुनशुनले जुलाईमा जापानी संसदको माथिल्लो सदनमा ४६ बर्षीया एन्द्री कावाईले आफ्ना कर्मचारीलाई कानूनले तोकेभन्दा बढी भत्ता दिएको कुरा सार्वजनिक गरेपछि छपन्न बर्षीय न्यायमन्त्री कावाईले राजिनामा दिनुभएको हो ।

कावाईले कर्मचारीलाई दिएको दैनिक खर्च जापानी कानूनले निर्धारण गरेको खर्चभन्दा बढी भएको उक्त पत्रिकाको बुधबारको अनलाइन संस्करणमा छापिएको थियो ।

पत्रिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एन्द्री कावाईका १३ महिला निर्वाचन अभियानकर्मीलाई कानूनमा व्यवस्था भएभन्दा दोब्बर अर्थात् प्रतिदिन २७६ डलर बराबर खर्च उपलब्ध गाराउनुभएको थियो ।

मन्त्री कावाईसमेतलाई आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई आलु तथा मकैको उपहार दिएर मत प्रभावित गराएको आरोप पत्रिकामा लगाइएको छ ।

प्रधानमन्त्री आवेलाई उहाँको कार्यालयमा राजिनामा बुझाएपछि बिहीबार पत्रकार सम्मेलनमा भन्नुभयो, “मेरो पत्नी एन्द्री वा ममाथि लगाइएका आरोप निराधार छन् । हामीले कुनै अनियमितता गरेका छैनौँ । यसलाई तल्लो तहसम्म पुगेर आरोपलाई निराधार पुष्टि गर्नु नै अहिलेको मेरो जिम्मेवारी हो ।”

हिरोसिमाको निर्वाचन क्षेत्र नं ३ बाट संसदको तल्लो सभाका लागि सात पटकसम्म निर्वाचित कावाईले सेप्टम्बरदेखि न्यायमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले न्यायराज्य मन्त्री तथा विशेष कुटनीतिक सल्लाहाकारका रूपमा काम गरिसक्नुभएको छ ।

गत शुक्रबार सोही पत्रिकाले त्यहाँका उद्योग मन्त्रीलाई पनि आफ्ना सहयोगीलाई कानून विपरीत नगद तथा उपहार वितरण गरेको समाचार छापेपछि उहाँले पनि राजिनामा दिनुभएको थियो ।

यसैबीच जापानी प्रधानमन्त्री आवेले दुई मन्त्रीको राजिनामाको जिम्मेवारी लिँदै जापानी जनतासँग क्षमा याचना गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “न्यायमन्त्री कावाईलाई जिम्मेवारी दिएको र उहाँमाथि अनियमितता गरेको आरोप लागेकाले यसको जिम्मेवारी लिँदै जापानी जनतासमक्ष क्षमा याचना गर्छु ।” रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button