तपाईँ सुन्दै हुनुहुन्छः

हिमाली जिल्लामा फस्टाउदै किवि खेती

दोलखा । दोलखा जिल्लामा ब्यवसायीक र संस्थागत रुपमा किविको खेती गर्नेको संख्यामा बृद्धि भएको छ । कृषि उत्पादनको अध्यन, उत्पादन र बिक्रि तथा बजार व्यवस्थापनको लक्ष्य सहित स्थापना भएको तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रा.लि.ले पनि किविको बेर्ना (विरुवा) उत्पादन र फल बिक्रिलाई प्राथामीकताका साथ सुरु गरेको छ ।

२०७१ सालमा स्थापना भएको तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिले गतबर्षबाट बिभिन्न कृषिजन्य वस्तुहरुको उत्पादन तथा बिक्रि वितरण सुरु गरेको जनाएको छ । गत बर्ष तिलोत्तमा हिमाली फूड प्रोडक्सनले झण्डै आठ लाखको किविको बेर्ना बिक्रि गरेको किवि जोन दोलखाको संयोजक एवं तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिका व्यवस्थापक उषा थापाले बताउनु भयो ।

तिलोत्तमाले यो बर्ष किविको चार हजार विरुवा बिक्रि गर्ने लक्ष्य लिएको जनाएको छ । त्यसैगरी तिलोत्तमाले गत बर्ष कागतीको विरुवा करिब तीन लाखको र एभोगार्डोको विरुवा ४० हजारको बिक्रि गरेको व्यवस्थापक उषा थापाले बताउनु भयो ।

तिलोत्तमाले तरकारी, फलफुल लगायत कृषिजन्य वस्तुको उत्पादन र बिक्रि वितरणसंगै ट्राउड माछा पालन समेत सुरु गर्ने जनाएको छ । ट्राउड माछा पालनको लागि १५ हजार माछा राख्न सकिने पोखरी निर्माण गरेको र तिहार लगतै १२ हजार ट्राउड माछाको भुरा पोखरीमा छोडिने व्यवस्थापक थापाले बताउनु भयो ।

त्यसैगरी तिलोत्तमाले छिट्टैनै खाद्य वस्तुहरु मकै, चामल, कोदोको पिठो, सिस्नुको पिठो, बिभिन्न प्रकारका अचारहरु समेत उत्पादन तथा बिक्रि गर्ने लक्ष्य राखेको जनाएको छ । त्यसैगरी उच्च पहाडी भेगमा पाईने बिभिन्न प्रजातिका च्याउ समेत उत्पादनको तयारी गरेको जनाएको छ ।

तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालि मुख्य त अध्यन गर्न चाहने कृषि विज्ञहरुको लागि महत्वपूर्ण थलोको रुपमा विकास गर्ने उदेश्यले सञ्चालन गरिएको र तिलोत्तमाले आफ्नै पहलमा कृषिसंग सम्बन्धित बिभिन्न विषयका तालिम सञ्चालन तथा कृषिजन्य वस्तुको अध्यन अनुसन्धान समेत गर्ने अध्यक्ष रत्न कार्कीले बताउनु भयो ।

दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा ९० रोपनी क्षेत्रफलमा सञ्चालन भएको तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिले किवि प्रशोधन मेशीन राख्ने योजना समेत बनाएको जनाएको छ । त्यसैगरी प्रदेश ३ सरकारको मुख्य सहयोग र भीमेश्वर नगरपालिकाको थप सहयोगमा शित भण्डार निर्माण सुरु गरेको व्यवस्थापक उषाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button