तपाईँ सुन्दै हुनुहुन्छः

परियोजनाहरु समयमा नै निर्माण हुनुपर्छ–मुख्यमन्त्री पौडेल

मकवानपुर । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परियोजनाहरु समय सिमा भित्र नै निर्माण हुनुपर्ने बताउनुभएको छ । बिभिन्न विकास निर्माणका कार्यहरु सुरु नै नभइकन थन्किने परिपाटीले विकासको गतिमा अवरोध पु¥याएको उहाँको भनाई थियो ।

हेटौंडा ६ मा निर्माण हुन लागेको नेपाल भारत मैत्री बहुप्राविधिक संस्थाको भबन शिलान्यास कार्यक्रममा बोल्दै उहाँले विकास निर्माणमा कसैले अवरोध गर्न नहुने बताउनुभयो । ‘विकास निर्माणका क्रममा अवरोध गरे क्षम्य नहुने समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘ यो लाखौं विद्यार्थीको भविष्य निर्माणमा जोडिन लागेको छ, यसलाई सबैले सहयोग गरौ । धेरै लामो समयको सपना र प्रयास पछि यो निर्माण प्रकृया अगाडि बढेको हो ।’ यसलाई आफ्ना अभिष्ट पुरा गर्न कोहि लागे जनताले नछोड्ने उहाँको भनाई थियो । मुख्यमन्त्री पौडेलले निर्माण कम्पनीलाई समयमा नै काम सम्पन्न गर्न आब्हान गर्दै समय अगाबै काम सके पुरस्कृत गर्ने घोषणा समेत गर्नुभयो ।

परिणाममुखी शिक्षाको लागि प्रदेश सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री पौडेल प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षा सञ्चालनका लागि योजना अघि बढाइएको बताउनुभयो । भारतिय सरकार पनि यो निर्माणका लागि अत्यन्त सकारात्मक रहेको भन्दै यसको निर्माणको प्रगती छिटो हुने बताउनुभयो । उहाँले भन्नुभयो–‘ बिगतमा हाम्रो तर्फबाट पनि कमी कमजोरी भए होलान् उताबाट पनि भए होलान तर अब त्यस्तो हँँुदैन ।’ मकवानपुर धेरै क्षेत्रको सम्भावना रहेको भन्दै यसै क्षेत्रमा अन्तराष्ट्रिय स्तरको रंगशाला बन्न लागेको जानकारी दिनुभयो । केन्द्रिय खेलकुद एकेडेमीका नाममा निर्माण सुरु भइरहेको परियोजनाका कारण देशले नै पुरै फाईदा लिन सक्ने बताउनुभयो ।

मुख्यमन्त्री डोरमणि पौडेल २०५४ सालमा मेयर हुँदा उहाँले प्राविधिक महाविद्यालय स्थापनाको बहस थाल्नु भएको थियो । यही बिषयमा निरन्तर लागिरहनु भएका तत्कालीन मेयर पौडेल अहिले मुख्यमन्त्री भएपछि प्राविधिक महाविद्यालय निर्माण गर्न अग्रसर हुनुभएको थियो ।

०६६ साल फागुन ४ गते तत्कालीन राष्ट्रपति रामबरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकको रुपमा भारतीय लगानीमा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । प्रदेश सरकारले २६ बिगाह जग्गा खाली गराएर महाविद्यालयको भवन निर्माणका लागि स्थान उपलब्ध गराएको हो । भारतीय अनुदानको ५८ करोड ४४ लाख लागतमा २६ वटा सुविधासम्पन्न भवनहरु, खेलमैदान, शैक्षिक कक्षाहरु, वर्कशपजस्ता कक्षहरुसहित आवासीय भवनहरु समेत निर्माण हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button