तपाईँ सुन्दै हुनुहुन्छः

टर्कीका राष्ट्रपतिलाई अमेरिका भ्रमणको निम्तो  

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले वासिङ्टनको भ्रमण गर्नुहुने बताउनुभएको छ ।

दुबै मुलुकबीच पछिल्लो समय बढेको तिक्तता र कुटनीतिक सम्बन्धमा आएको चिसोपनका कारण टर्कीका राष्ट्रपतिको अमेरिका भ्रमणमा अन्यौल बढेको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार ट्वीट गर्दै टर्कीका राष्ट्रपतिसँग टेलिफोनमा निकै राम्रो छलफल भएको जानकारी दिनुभएको छ । उहाँले ह्वाइट हाउसमा एर्डोगानसँग आगामी नोभेम्बर १३ मा भेटवार्ता हुने बताउनुभयो ।

“सिरियासँगको सीमा, आतंकवादको निर्मूलन, कुर्दहरुसँगको तनाब समाप्ति तथा अरु धेरै विषयमा हामीबीच भलाकुसारी भए,” ट्रम्पले भन्नुभएको छ । उहाँले उत्तरी सिरियामा उत्पन्न गतिरोधका कारण त्यस क्षेत्रमा बन्दी बनाइएका इस्लामिक स्टेट्सका केही लडाकूहरु भागे पनि उनीहरुलाई पुनः पक्राउ गरिएको टर्कीका राष्ट्रपति एर्डोगानले जानकारी गराउनुभएको पनि बताउनुभयो ।

टर्कीले सिरियाभित्र प्रवेश गरी आक्रमण गरेपछि टर्की विरुद्ध आर्थिक नाकाबन्दी लगाउने भन्दै अमेरिकी संसदले विधेयक पारित गरेपछि टर्कीका राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने वा नगर्ने अन्यौल बढेको थियो ।
रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button