तपाईँ सुन्दै हुनुहुन्छः

इटालीको स्टिल प्लान्टका पाँच हजार कामदारको रोजगारी गुम्ने खतरा   

रोम –  स्टिल उत्पादक आर्सेलोर–मित्तल कम्पनीले इटालीको आर्थिक रुपमा सङ्घर्षरत फर्म इल्भालाई खरिद गर्ने यसअघिको सम्झौता कार्यान्वयन नगर्ने भएको छ ।

इटालीका प्रधानमन्त्री जियोसेप कोन्टेका अनुसार मित्तल समूहको नयाँ प्रस्तावका कारण इटालीको कम्पनीबाट पाँच हजार कर्मचारीको भविष्य अन्यौलमा परेको छ ।

विश्वकै सर्वाधिक ठूलो स्टिल उत्पादक आर्सेलोर–मित्तल कम्पनीले इटालीको इल्भा प्लान्ट खरिद नगर्ने निर्णय गरेको छ, र यसको जानकारी इटाली सरकारलाई गराएको छ । मित्तल समूहले इल्भाको सर्वाधिक प्रदूषण फैल्याउने टारान्टो स्टिल प्लान्ट बन्द गर्न अनुरोध गरेको थियो, तर इटाली सरकारले स्थानीयको रोजगारी गुम्ने भन्दै उक्त प्लान्ट बन्द नगर्न मित्तल समूहलाई पत्र लेखेको छ ।

इटालीका प्रधानमन्त्रीको भनाई सार्वजनिक भएसँगै हजारौंको रोजगारी धरापमा परेको छ । तर प्रधानमन्त्री जियोसेपले आर्सेलोर–मित्तल समूहसँगको वार्तापछि भन्नुभयो, “मित्तल समूहले लगानी बमोजिम नाफा गर्न नसकिने भएकाले पाँच हजार रोजगारी कटौती गर्ने प्रस्ताव अघि सारेको छ । तर यो हाम्रा लागि स्वीकार्य छैन ।”

प्रधानमन्त्री जियोसेपले आर्सेलोर–मित्तल समूह पुनः वार्तामा आउने र सम्झौता हुने विश्वास व्यक्त गर्नुभयो । दुबै पक्षलाई स्वीकार्य प्रस्तावले मात्र समस्याको समाधान निकाल्नेछ, प्रधानमन्त्रीले भन्नुभयो ।

आर्सेलोर–मित्तलले गत वर्ष नोभेम्बरदेखि नै यो प्लान्ट खरिद गर्ने उद्देश्यले काम थालेको थियो । कम्पनीले यस कम्पनीको पुनरुत्थानका लागि करिब २ अर्ब ७० करोड डलर लगानी गर्ने योजना बनाएको छ, र सन् २०२४ सम्ममा प्रदूषण नियन्त्रणका लागि एक अर्ब २० करोड डलर खर्च गर्ने योजना छ ।

इटालीको दक्षिणमा रहेको टारान्टो स्टिल प्लान्ट विगतदेखि नै विवादको घेरामा तानिएको छ किनभने विज्ञहरुको भनाईमा यस प्लान्टको वरिपरिका करिब ७ हजार ५०० मानिसको प्लान्टबाट निस्कने घातक प्रदूषणका कारण मृत्यु भएको छ ।

युरोपकै ठूलो मानिएको यस प्लान्टमा आठ हजारभन्दा बढी कामदार कार्यरत छन् । टारान्टो दक्षिण इटालीको सर्वाधिक गरिबी र बेरोजगारी दर उच्च रहेको ठाउँ हो ।

इटालीका प्रधानमन्त्री कोन्टेले यसै विषयमा कुराकानी गर्न बिहीबार मजदुर युनियनसँग भेटघाट गर्ने बताउनुभएको छ ।
रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button