तपाईँ सुन्दै हुनुहुन्छः

सु-संस्कार, सु-संस्कृति समाज निर्माणमा महोत्सवले योगदान पुर्‍याउने : राष्ट्रपति भण्डारी

बीरगंज –राष्ट्रपति विद्यादेवी भण्डारीले चलचित्रको माध्यमबाट शिक्षा, स्वास्थ्यको प्रवद्र्धन र समाजमा विद्यमान रहेका कुप्रथाहरुको विरुद्ध जागरण फैलाउदै सु-संस्कार र  सु-संस्कृति समाज निर्माणमा योगदान पुर्याउनु पर्ने कुरामा जोड दिनु भएको छ ।

नेपाल चलचित्र निर्माता संघको आयोजनामा आजबाट शुरु भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’को कार्यक्रमको  उद्घाटन गर्नुहुदै राष्ट्रपति भण्डारीले चलचित्र स्वस्थ्य मनोरञ्जनको उद्देश्यले हुनुको साथै चेतना र जागरणको संवाहकसमेत भएको बताउनुभयो ।

उहाँले कलाकारहरु राष्ट्रका जागरुक र महत्वपूर्ण प्रतिनिधि पात्र भएकाले सामाजिक सहिष्णुता, शान्ति प्रवद्र्धन, पर्यटन विकास, पर्यावरण सन्तुलन र आर्थिक समृद्धिका सन्देश दुत बनेर समाजमा चेतना र जागरण फैलाउनु पर्ने कुरामा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले आधा शताब्दीभन्दा बढी गौरवशाली यात्रा पुरा गरेको नेपाली चलचित्रले बहुभाषिक, बहुसंसकृतिक, भौगोलिक विविधतालाई उजागर गर्न मेहनत गरेकोमा चलचित्रकर्मीको प्रशांसा गर्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजा महाराजाहरुबाट नेपालको फिल्म इण्ड्रस्टिज जनतामा पुगेको बताउदै यसलाई राष्ट्रिय संस्कृतिको स्वरुपमा परिवर्तन गर्न अहिलेको संविधानले गरेको बताउनुभयो ।

उहाँले यो संविधानले कुनै खास भाषा, धर्म, जाति, सम्प्रदाय तथा व्यक्तिलाई नभई सबैलाई संरक्षण गरी राष्ट्रिय एकताको संस्कृति उजागर गरेको बताउदै अहिले जनताको संबिधानले राष्ट्रिय संस्कृति र चरित्रको निर्माणका लागि काम अगाडी बढाएको दाबी गर्नुभयो ।

उहाँले यो संविधान साधारण संविधान होईन, भन्नु हुदँै जनताको रगत, पसिना, आसु , सपना र संकल्पसँग साटिएको संविधान भएको हुँदा यसले हाम्रा सम्पूर्ण क्षेत्रलाई प्रतिनिधित्व मात्रै होईन नेतृत्वसमेत गर्ने दाबी गर्नुभयो ।

उहाँले नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वधिनता, सार्वभौमसत्ता, न्यायमा आधारित चलचित्र बन्नुपर्ने कुरामा जोड दिदै नालापानी र कालापानी, सिम्रौनगढ र मकवानपुरगढीमा आधारित फिल्म बन्न नसकेको भन्दै चलचित्रकर्मीलाई प्रति प्रश्न गर्नुभयो ।

कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पहाड, मधेश, तराई हिमाललाई समेटेर चलचित्र बन्न नसक्दा दर्शकहरु बलिउडका चलचित्र तर्फ आकर्षित भएको बताउदै फिल्मी क्षेत्रमा ठूला लगानीकर्ताहरु भित्रिन नसक्नुको कारण खोजिनु पर्ने कुरामा जोड दिनुभयो ।

उहाँले मधेशको रितीरिवाज, भेषभुषा, कला संस्कृतिलाई नेपाली सिनेमाले सम्मानजनक स्थान दिनु्पर्ने कुरामासमेत जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रीमति भवानी राणाको सभपातित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश नम्बर २ का प्रमुख तिलक परियार, वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकार, संगिताकार, गितकार, नायक, नायिकाहरुको उल्लेख्निय उपस्थिति रहेको छ ।

वीरगंजको आदर्शनगर रंगशालामा संचालन हुने चलचित्र महोत्सव ३ दिनसम्म चल्ने र यसले मुलुकको कला, संस्कृति र भाषाको समिश्रण तथा चलचित्रको बजार प्रवर्धन गर्दै प्रदेश नम्बर–२ का जनतासँग चलचित्रको आत्मियता बढाउने विश्वास चलचित्रकर्मीहरुले लिएका छन् ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका उद्योगपति, व्यवसायीहरु र चलचित्र क्षेत्रबीचको दुरी कम गराई यस चलचित्र उधोगप्रति लगानी आकर्षण गराउनु पनि महोत्सवको उद्देश्य रहेको संघका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो ।

महोत्सवमा सहभागी हुन बलिउड अभिनेता गोविन्दासमेत बीरगंज आईपुगेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button