तपाईँ सुन्दै हुनुहुन्छः

हरेक स्थानीय तहमा उद्योग ग्राम खोलेर यूवालाई उद्यममा जोड्ने :  मुख्यमन्त्री पौडेल

मेलम्ची –प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले हरेक स्थानीय तहमा उद्योग ग्राम खोलेर यूवालाई उद्यममा जोड्ने बताउनुभएको छ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ अमलटारमा प्रदेश सरकारको लगानीमा निर्मित भूकम्पपीडित यूवा उद्यमी तालिम केन्द्र भवनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले यूवाका सीपलाई उद्यममा जोड्न सकेमात्र मुलुक समृद्ध बन्ने बताउनुभयो ।

‘हामी हरेक स्थानीय तहमा एक उद्योगग्राम खोल्ने अभियानमा छौं’, उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले यूवालाई उद्यममा जोडेर, उत्पादनमा लगाउने अभियान सुरु गरिसकेको छ ।’ मुख्यमन्त्री पौडेलले कार्यक्रमकाबीच यूवाहरुलाई उद्यम र उत्पादनमा जुट्नसमेत आग्रह गर्नुभयो ।

बिभिन्न गाउँ ठाउँमा उत्पादित कृषि उत्पादनले बजार नपाएकोप्रति इंगित गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले कृषि उत्पादनका लागि बजार खोजिदिने प्रतिबद्धतासमेत ब्यक्त गर्नुभयो । ‘बजार पाइँदैन भन्ने चिन्ता नगर्नुस्, हामी हरेक खाले उत्पादनलाई बजारको व्यवस्था गरिदिन्छौं’, उहाँले भन्नुभयो, ‘सिन्धुपाल्चोकको उत्पादन चितवन जानसक्छ, चितवनको उत्पादन अब सिन्धुपाल्चोक आउनसक्छ ।’

कार्यक्रममा प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले उद्योगको विकास र उद्यमशीलताबाट नै प्रदेशलाई समृद्ध बनाउने अभियानमा सरकार अघि बढेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button