तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत घुम्ती शिविरबाट झापामा सयौं लाभान्वितं

भद्रपुर, झापा – जिल्ला प्रशासन कार्यालय झापाको संयोजनमा आज झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा बृहत एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ ।

कचनकवल–२ को सुकुनाढिकीस्थित लक्ष्मीप्रसाद देवकोटा मावि परिसरमा आयोजित घुम्ती शिविरमा जिल्लास्थित एकदर्जन सरकारी कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल टेलिकम, साल्ट ट्रेडिङ कर्पोरेशनले आ–आफ्नो सेवा प्रदान गरेका थिए ।

स्थानीय कचनकवल गाउँपालिकाले समेत सहयोग पुर्याएको शिविरमा जिल्ला प्रशासन कार्यालयले कार्यालयबाट प्रवाह गरिने कामहरुका बारे चेतनामूलक स्टल राखेको थियो भने कृषि ज्ञानकेन्द्र झापाले बाली उपचार, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाले पशुको स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण, डिभिजन वनन कार्यालयले निःशुल्क विरुवा वितरण, जिल्ला स्वास्थ्य कार्यालय झापा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाले निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण, गुणसतर तथा नापतौल कार्यालय झापाले नापतौलसम्बन्धी सचेतना, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाले पानीको गुणस्तर परीक्षण, आन्तरिक राजश्व कार्यालय भद्रपुरले पान नं दर्ताका लागि विवरण संकलन, जिल्ला निर्वाचन कार्यालयले मतदाता परिचयपत्रका लागि फोटो खिच्ने कार्य गरेका थिए भने नेपाल टेलिकमले निःशुल्क रुपमा सिम वितरण, साल्ट ट्रेडिङ कर्पोरेशन विर्तामोडले सहुलियत मूल्यमा आयोडिनयुक्त नून वितरण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’को प्रचारका साथै दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम गरेको थियो भने नेपाली सेनाले सर्पदंश उपचार र विपदमा गरिने उद्धारका सम्बन्धी प्रदर्शन गरेको थियो ।

यसैगरी, सशस्त्र प्रहरीले आगलागी नियन्त्रण र आगलागीपछि हुने क्षति न्यूनीकरणका उपाय बारे प्रदर्शन गरेको थियो ।

शिविर चल्दै गरेकै समयमा खेतमा धान काट्दै गरेकी स्थानीय टिका पोखरेललाई सर्पले डसेपछि सोही शिविरमा ल्याई सेनाले प्राथमिक उपचार गरी चाररआलीस्थित सर्पदंश उपचार केन्द्रमा पठाएको स्थानीय रवि ओझाले जानकारी दिनुभयो ।

टाढा–टाढाबाट शिविरमा सेवा लिन आएका सयौं सेवाग्राही एकीकृत घुम्ती शिविरबाट लाभान्वित भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिनुभयो ।

जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेपछि कचनकवल क्षेत्रमा जिल्लास्थित सरकारी कार्यालयहरुले एकीकृत रुपमा पहिलोपटक घुम्ती शिविर आयोजना गरेको भन्दै गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले शिविरबाट बृद्धबृद्धा र अशक्तहरु बढी लाभान्वित भएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button