२०७६ साल मंसिर ४ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिका र दक्षिण कोरियाका रक्षामन्त्रीहरुको वार्ता अर्काे हप्ता   

रेडियो नेपाल २०७६ कार्तिक २३ गते १३:१२

सोल  –  संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका रक्षामन्त्रीहरुबीच आगामी हप्ता दक्षिण कोरियाको राजधानी सोलमा वार्ता हुने भएको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको शुक्रबार प्राप्त एक समाचारमा उल्लेख गरिएको हो ।

दक्षिण कोरियाका रक्षामन्त्री जोङ क्योङ डु र अमेरिकी रक्षामन्त्री मार्क एस्परबीच हुने सो वार्ता वार्षिक रक्षामन्त्रीस्तरीय द्धिपक्षीय वार्ता हो ।

आगामी शुक्रबार हुन लागेको सो वार्ता दुई देशबीचको ५१ औँ सुरक्षा परामर्श बैठक पनि रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

उक्त वार्ताका क्रममा यी दुई देशबीचमा आपसी सुरक्षा सम्बन्ध मामिलाका विषयमा कुराकानी हुने बताइएको छ ।

यसका साथै कोरियाली प्रायद्धीपमा जारी सुरक्षाको अवस्था, उत्तर कोरिया एवम् अन्य क्षेत्रीय शुरक्षाका विविध विषयमा कुराकानी हुने पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।

संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको उच्चस्तरीय वार्ता दुई पटकसम्म भएको छ । आगामी दिनमा पनि यी दुई देशबीचका वार्ताको सम्भावना रहेका समाचारहरु आएका छन् ।

यस अवस्थामा दक्षिण कोरिया र अमेरिकाका रक्षामन्त्रीहरुको वार्ता हुन लागेकोले यसलाई महत्वपूर्ण विषयका रुपमा पनि लिइएको छ ।
रासस/सिन्ह्वा