तपाईँ सुन्दै हुनुहुन्छः

रेशम खेतीप्रति किसानलाई आकर्षित गर्न प्रोत्साहन कार्यक्रम

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकास्थित प्रजनन पिँढी बिजकोया स्रोत केन्द्रले रेशमखेतीप्रति किसानलाई आकर्षित गर्न प्रोत्साहन कार्यक्रम ल्याएको छ ।

कार्यालयले रेशम खेतीबाट राम्रो आम्दानी हुने भए पनि प्राविधिक ज्ञानको अभावले किसान आकर्षित हुन छाडेपछि प्रोत्साहन कार्यक्रम ल्याएको हो ।

रेशम खेतीको विकास तथा विस्तार गरी किसानलाई आकर्षित गर्न किम्बुको बिरुवामा ५० प्रतिशत अनुदान, ढुवानी र प्राविधिक सेवामा सय प्रतिशत नै अनुदानको व्यवस्था गरिएको केन्द्रका कार्यालय प्रमुख शङ्करप्रसाद न्यौपानेले बताउनुभयो ।

यो व्यवस्थाअनुसार तनहुँ, लमजुङ, गोरखा र पूर्वी नवलपरासीका किसानले अनुदानको सुविधा पाउने छन् । उक्त कार्यक्रमको लागि पाँच लाख बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।

सय रोपनी जमीनमा खेती गर्न चाहने किसान, किसान समूह, सहकारी, गैरसरकारी संस्थाको लागि उक्त बजेट छुट्याइएको हो ।

पचास किसानको लागि सय प्रतिशत अनुदानमा किम्बु तथा रेशमखेती तथा रेशम किरापालनको लागि स्थलगत तालिमको समेत व्यवस्था गरिएको छ ।

गण्डकी प्रदेशमा पहिलो पटक च्याउखेती तथा मौरीपालनको लागि विशेषज्ञ सेवा दिन बन्दीपुरमा कार्यालय स्थापना गरिएको हो ।

सोही स्थानमा च्याउ र मौरीको लागि विशेषज्ञ सेवा पनि दिन थालिएको छ । गण्डकी प्रदेशमा मौरीपालन र च्याउखेतीको विशेषज्ञ सेवा अन्यत्र नरहेकोले यसै वर्षदेखि काम गर्ने गरी बन्दिपुरमा कार्यालय स्थापना गरिएको हो ।

हाल कार्यालयहाता भित्र रहेको करीब सात हेक्टर जमीनमा नमूना फार्म निर्माण गरिएको छ भने करीब चार हेक्टर क्षेत्रफलमा किम्बुखेती गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button