तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा २९ हजारभन्दा बढी आर्थिक प्रतिष्ठान

चितवन-जिल्लामा २९ हजार २३७ प्रतिष्ठान आर्थिक क्रियाकलापमा संलग्न रहेका छन् । तथ्याङ्क कार्यालय चितवनले आज यहाँ राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिक गर्दै सो जानकारी दिएको हो । कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार जिल्लामा रहेको प्रतिष्ठानमा एक लाख चार हजार ६२७ जनाले रोजगारी पाएका छन् । प्रत्यक्ष संलग्न जनशक्तिको तथ्याङ्क हेर्दा पुरुष ६३ हजार ५१७ जना, महिला ४१ हजार ११० जना रहेका छन् ।

कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा ५८ प्रतिशत दर्ता भएका र ४२ प्रतिशत दर्ता नभएका प्रतिष्ठान रहेका छन् । प्रतिवेदनअनुसार कृषि, वन तथा माछापालन व्यवसाय, खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित आपूर्ति, पानी आपूर्ति, ढल, फोहर व्यवस्थापन तथा प्रशोधन, निर्माणलगायतका क्षेत्रअनुसारका प्रतिष्ठान रहेका छन् । यस्तै थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकल मर्मत, यातायात तथा गोदाम, आवास सुविधा तथा खाना व्यवस्थापन, सूचना तथा सञ्चार, वित्तीय तथा बीमा, घरजग्गा कारोवार, पेशागत, वैज्ञानिक तथा प्रविधिक क्रियाकलाप, प्रशासनिक तथा सहयोगी क्रियाकलाप, शिक्षा, मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलाप, कला, मनोरञ्जन तथा मनोविनोद क्रियाकलाप र अन्य सेवा क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठान रहेका छन् ।

जिल्लामा रहेका ती प्रतिष्ठानको व्यवस्थापकीय जिम्मेवारी १८ हजार ३०८ मा पुरुष र १० हजार ९२८ वटामा महिलाको भूमिका रहेको छ । जिल्लामा प्रतिष्ठान खुल्नेक्रम विसं २०७० यता बढी सङ्ख्यामा रहेको छ । सो समयमा मात्र १८ हजार ३९५ वटा प्रतिष्ठान खुलेको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । गणनाका क्रममा जिल्लालाई २१ क्षेत्रमा विभाजन गरिएको थियो । जिल्लामा रहेका प्रतिष्ठानमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा रहेका छन् ।

जहाँ १७ हजार ७७ वटा आर्थिक प्रतिष्ठान रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस्तै रत्ननगर नगरपालिकामा चार हजार १४४, खैरहनी नगरपालिकामा दुई हजार ७४९, राप्ती नगरपालिकामा एक हजार ७५३, कालिका नगरपालिकामा एक हजार ५१६ प्रतिष्ठान रहेका छन् । त्यस्तै माडी नगरपालिकामा एक हजार सात र इच्छाकामना गाउँपालिकामा ९८८ आर्थिक प्रतिष्ठान रहेका छन् । यी प्रतिष्ठानमध्ये भाडाको भवन वा कोठा भाडामा लिने सबैभन्दा धेरै रहेका छन् ।

यस्ता प्रतिष्ठान १५ हजार ५२५ रहेका छन् । आफ्नै भवन रहेका प्रतिष्ठान ११ हजार ८४४, ठेक्काको भवन वा कोठामा २३७ र अन्य प्रकारका स्वामित्व स्थिति भएका भवन वा कोठामा सञ्चालनमा आएका १६७ वटा रहेको सो अवसरमा जानकारी दिइएको थियो । गणनाअनुसार नेपालमा नौ लाख २३ हजार ३५६ प्रतिष्ठान रहेका छन् । तीमध्ये ५०.१ प्रतिशत दर्ता भएका, ४९.९ दर्ता नभएका र ०.०४ प्रतिशत दर्ताको स्थिति नखुलेको रहेका छन् । ती प्रतिष्ठानमा ३२ लाख २८ हजार ४५७ जनाले रोजगारी पाएका छन् । तीमध्ये २० लाख १२ हजार २३७ पुरुष र १२ लाख १६ हजार २२० महिला रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button