तपाईँ सुन्दै हुनुहुन्छः

तीन नगरपालिकाको पर्यटक भित्र्याउने योजना

मेलम्ची ।भ्रमण वर्ष २०२० लाई लक्षित गरेर जिल्लाका तीनै नगरपालिकाले महत्वाकांक्षी योजना घोषणा गरेका छन् । दीर्घकालीनरुपमा पर्यटन प्रवद्र्धनका लागि तीनै नगरपालिकाले ठूलो लगानी गर्ने योजना अघि सारेका हुन् ।

जिल्लाको केन्द्र भागमा रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले भ्रमण वर्षलाई समेत लक्षित गरी तीन करोड बजेट बिनियोजन गरेको छ । मेयर अमानसिंह तामाङले प्रत्येक वर्ष नगरपालिकामा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको बताउनुभयो ।

नगरपालिकाको पश्चिम मोडमा पर्ने दारेगौँडामा शिव र बुद्धको ठूला मूर्ति बनाउन तीन करोड बिनियोजन गरेको उनले जानकारी दिए ।हाइवेबाट दारेगौँडासम्म पुग्ने ६ सय मिटरको आकर्षक सिँढीबाट मूर्ति भएको स्थानमा पुग्न सकिन्छ । मूर्ति र सिँढी निर्माणको काम केही दिनमै सुरु गरिँदैछ । भ्रमण वर्ष २०२० सफल पार्न पर्यटन व्यवसायी र नगरको संयुक्त लगानीमा आगामी फागुन १ देखि ७ गतेसम्म सुकुटे महोत्सव गरिँदै छ । महोत्सवमा आएका पर्यटकलाई ओखरेनी लेकको चियाबगान र स्याउलेको चमेरो गुफासम्म पु¥याउने योजना बनेको छ । सुनकोसी नदीको किनार सुकुटेबाट लेकाली चियाबगान ओखरेनीसम्म पु¥याउन पर्यटन पूर्वाधारका काम सुरुवात गरिएको छ ।

राजधानी काठमाडौसँग जोडिएको मेलम्ची नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि एक करोड बजेट विनियोजन गरेको छ । मेयर डम्बर अर्यालले दिनुभएको जानकारीअनुसार दुईवटा पदमार्ग, होमस्टे, सडक र धार्मिक क्षेत्रको पूर्वाधार निर्माणमा रकम खर्च गरिने छ । पर्यटकलाई प्याकेज टुर गराउन १०१ र २०१ नम्बरबाट नामाकरण गरी पदमार्ग निर्माणको काम सुरु गरिएको उनले बताए । भोटेचौरदेखि चिसापानी हुँदै मेलम्चीसम्मको पदमार्गलाई १०१ र मेलम्चीदेखि गुफाडाँडासम्मलाई २०१ नामाकरण गरिएको हो । पदमार्ग लामोलामो रुटको भएकोले बीचबीचमा बास बस्न होमस्टेको अवधारणा ल्याइएको छ ।

अन्तर्रा्ष्ट्रिय नाका कोदारी राजमार्गसँग जोडिएको बाह्रबिसे नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि एक करोडभन्दा बढी रकम बिनियोजन गरेको छ । ६ नं. वडामा रहेको भयौलीकुण्डलाई व्यवस्थित बनाउन ३ नं. प्रदेशले दिएको रकमसमेत गरी नगरले ४५ लाख बजेट छुट्याएको छ । ८ नं. वडाको घुँडेमा भ्युटावर र बुद्धपार्क निर्माणका लागि नगरले बजेट विनियोजन गरिसकेको छ । मेयर निम्फुञ्जो शेर्पाले भ्रमण वर्षलाई समेत ध्यान दिएर बजेट ल्याएको बताए । धार्मिकस्थल कालिञ्चोक जाने सडकमा गतसाल ३० लाख खर्च गरेको र यो वर्ष पनि कम्तीमा ५० लाख खर्च गर्ने लक्ष्य नगरको छ । बाह्रबिसेबाट दोलखाको कालिञ्चोक पुग्ने सडक बीच भागमा पुगेको छ । छोटो दूरी भएकोले सडक पूरा हुनसाथ यही बाटो भएर धार्मिक पर्यटकलाई कालिञ्चोक पु¥याउने योजना छ । बाह्रबिसेमा रहेको टुङटुङ गुफा र झरनामा रक क्लाइम्बिङको लागि जर्मनी संस्थाले काम सुरु गरेको उनले बताए । जिल्लाका अन्य नौ स्थानीय सरकारले पनि पर्यटन क्षेत्रमा ठूलै रकम छुट्याएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका : ‘लेकबेँसी दुवै देखाउने’

फागुन १ देखि ७ गतेसम्म सुकुटे महोत्सव गर्ने तयारी छ । महोत्सवमा आउने पर्यटक तथा अतिथिलाई कदमबासको प्याराग्लाइडिङ, इर्खु, चौताराको पुरानो बजार, गौराती भिमेश्वर, स्याउलेको हर्लङबर्लङ, चमेरो गुफा र ओखरेनीको चियाबगान अवलोकन गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ । बिस्तारै सबै काम हुँदैछ । नगरको गौरवको आयोजना दारेगौँडामा सुरु हुँदैछ । आन्तरिक तथा बाह्य पर्यटकलाई सुनकोसी नदीदेखि ओखरेनी लेकसम्म लाने कार्यक्रम बनाइँदैछ ।

मेलम्ची नगरपालिका : ‘पदमार्ग र होमस्टेमा लगानी’

राजधानीसँगै जोडिएको भोटेचौरबाट चियाबगान हुँदै चिसापानी र मेलम्चीको १०१ नं. को पदमार्ग विस्तार गरिँदै छ । मेलम्चीबाट जलबायु सम्मेलन भएको स्थान गुफाडाँडालाई २०१ नं. पदमार्ग बनाएका छौं । त्यसका लागि बीचबीचमा होमस्टे र अन्य पूर्वाधारको काम सुरु भएको छ । पर्यटक भित्र्याउन सडकको कामलाई तीब्रता दिइएको छ । धार्मिक तथा प्राकृतिक रुपमा के गर्न सकिन्छ भनेर पर्यटन सम्बन्धी योजना बनाइएको छ ।

बाह्रबिसे नगरपालिका : ‘भयौलीकुण्डलाई विकास गरिने’

भयौलीकुण्ड, टुङटुङ गुफा, झरना र रक क्लाइम्बिङमा लगानी गरिने लक्ष्य छ । घुँडेमा भ्युटावर र बुद्धपार्क बनाइने छ । पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारका काम भइरहेका छन् । छिमेकी मुलुक चीनसँग नाका जोडिएको भोटेकोसीसँग छलफल गरेर पर्यटक भित्र्याउने रणनीति तयार गर्ने उद्देश्य छ । भयौलीकुण्डको काम सुरु भइसकेको छ । यो वर्षको जनैपूर्णिमामा दुई हजार मानिस त्यहाँ पुगे । अब १० हजार पर्यटक पु¥याउने लक्ष्य छ । सडक, खानेपानी र पूर्वाधारका अन्य काम जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button