तपाईँ सुन्दै हुनुहुन्छः

बंगलादेशका राष्ट्रपति दिनभर उच्चस्तरीय भेटवार्तामा

काठमाडौं । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ । उहाँले आज राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना,  नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस्तो छ उहाँको आजको भेटवार्ताको कार्यतालिका

आज बिहान १०ः५० देखि ११ः५ सम्म राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले भेटवार्ता गर्दै हुनुहुन्छ । ११ः१० देखि ११ः२५ सम्म नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, २ बजेबाट २ः१५ बजेसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम तय भएको छ । २ः४० देखि ३ः१० सम्म प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी राष्ट्रपति समक्ष शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । ३ः१५ बाट ३ः३५ सम्म उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ्गले भेट्ने कार्याक्रम  रहेको छ ।Image

राष्ट्रपति भण्डारीलाई भेट्न बंगलादेशी राष्ट्रपति हमिद दिउँसो ४ बजे शितलनिवास जानुहुने कार्यतालिका छ । भेटमा आपसी हितका विषयमा छलफल हुने राष्ट्रपति कार्यालयले जनाएको छ । ५ बजेर १५ मिनेटमा उहाँ म्यारिएट होटलमा फर्कनुहुनेछ । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागि हुने कार्यक्रम छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति हमिद ५२ सदस्यीय टोलीको नेतृत्व गर्दै हिजो नेपालको चारदिने राजकीय भ्रमणमा नेपाल आउनुभएको हो । राष्ट्रपति हमिदसँग पत्नी रसिदा हमिद पनि सहभागी हुनुहुन्छ।

हमिद आजै राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनुहुनेछ ।हमिद भोलि पोखरा भ्रमणमा जानु हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button