२०७६ साल मंसिर २७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीको आक्रमणबाट चितवनमा दुई जनाको मृत्यु

ध्रुब अधिकारी २०७६ कार्तिक ३० गते १५:४८

बीरगंज – चितवन राष्ट्रिय निकुन्जको सडकखण्डमा आज जंगली हात्तीले आक्रमण गर्दा मोटरसाईकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

चितवनको माडीबाट पर्साको ठोरी आउने क्रममा चितवन राष्ट्रिय निकुन्जस्थित सडकखण्डको अमुवा पोष्ट नजिकै रातोमाटे डाँडामा जंगली हात्तीले आक्रमण गर्दा माडी नगरपालिका वडा नम्बर १ बरुवा निवासी ६० बर्षिय बाबुराम पौडेल र निजका छोरा ३० बर्षिय राजु पौडेलको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय माडी बसन्तपुरले जनाएको छ ।

माडीको बगहीबाट लु ३१ प २९११ नम्बरको मोटरसाईकल मार्फत ठोरीतर्फ जाँदै गरेका पौडेलका बाबु छोरालाई जंगली हात्तीले आक्रमण गरेको थियो ।

यसैबिच आज बिहान काठमाडौंबाट पर्साको सुवर्णपुर आईरहेको बसमाथीसमेत हात्तीले आक्रमणको प्रयास गरेको र झण्डै आधा घण्टा हात्तीले बाटो छेकेको माडी कृष्ण नगरका अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय माडी तथा भरतपुरबाट आएको प्रहरी टोलीले घटनास्थलको स्थलगत अनुसन्धान गरी मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाएको छ ।

चितवन राष्ट्रिय निकुन्ज भित्र मोटरसाईकल साईकल र पैदययात्रा गर्दा जंगली जनावरहरुबाट आक्रमणको खतरा बढ्दै गएको छ । निकुन्जभित्र संरक्षित जंगली हात्ती,गैंडा लगायतका जनावरहरुले यात्रुहरु एवं सवारी साधनहरुको बाटो छेक्ने,आक्रमण गर्ने र कतिपय अबस्थामा ज्यानै लिने गरेका छन् ।

निकुन्जभित्रको सुबिधा प्राप्त बाटो प्रयोग गर्दै दैनिक सयौं यात्रुवाहक बस र अन्य सवारी साधनहरु आवत जावत गर्ने गर्दछन् ।

यसैक्रममा कहिले जंगली हात्तीले एक्लै र कहिलेकाही बथान सहित सवारी साधन रोक्ने वा आक्रमण गर्ने गरेको छ । मोटरसाईकलमा यात्रा गर्दा प्राय सधै जंगली जनावरको आक्रमणको सन्त्रास भईरहने माडी जनजिवन माध्यामिक बिद्यालयका शिक्षक राम प्रसाद भण्डारीले बताउनुभयो ।