तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानीका कुनैपनि योजनाहरुमा बजेटको अभाव हुन दिन्न : मन्त्री मगर

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले खानेपानीका कुनैपनि योजनाहरुमा बजेटको अभाव हुन नदिने बताउनु भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सञ्चालित खानेपानी आयोजनाहरुको स्थलगत अनुगमन गर्दै मन्त्री मगरले नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको खानेपानीका आयोजनाहरु शीघ्रातिशीघ्र संचालन गर्दै स्वच्छ खानेपानीको पहुँचमा जनतालाई पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनुभएका मन्त्री बिना मगरले कुनै पनि नागरिक स्वच्छ खानेपानीबाट वञ्चित नहुने दाबी गर्दै त्यसका लागि मन्त्रालयले गाउँगाउँमा खानेपानीका योजना अघि सारिरहेको जानकारी दिनुभयो ।

 

एडिबीको सहुलियत ऋण सहयोगमा भीमदत्तमा तीन अर्बका योजना

भीमदत्त । एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिमा रु तीन अर्बका विकास निर्माणका योजना छनोट गरिएका छन् ।

नगरपालिकामा पूर्वाधार निर्माण र संस्थागत सृदृढीकरणका लागि क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत विकास निर्माणका योजना कार्यान्वयनमा ल्याइन लागेको हो । नगरपालिकामा आयोजनाअन्तर्गत ढल विकास, शहरी सडक निर्माण र फोहर व्यवस्थापन प्रणाली सुधारका लागि एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका योजना छनोट गरिएका छन् ।

आयोजनाअन्तर्गत भीमदत्तमा सञ्चालन हुने योजनामा तीन अर्ब रकम खर्च हुनेछ । शहरी सडक निर्माणअन्तर्गत ३६ दशमलव छ किलोमिटर नालीसहित पक्की सडक निर्माण हुने योजना छ ।

नगरपालिकामा शहरी सडकको ३६ दशमलव छ किलोमिटरमध्ये पहिलो चरणमा १३ दशमलव ८५ किलोमिटर सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्रका सबै गल्लीका सडक निर्माणका लागि गत महिना रु एक अर्ब ७६ करोडको ठेक्का आह्वान गरिएको थियो ।

सर्वदलीय सर्वपक्षीय बैठकमा आयोजनाअन्तर्गत छनोट गरिएका सबै योजना सफल बनाउन सबै दलहरु एक भएर जाने निर्णयसमेत गरिएको नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । नगरपालिकासहित सुदूरपश्चिम प्रदेशका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा क्षेत्रीय शहरी विकास आयोजना सञ्चालनमा रहेको छ ।

आयोजना लागू भएका चार नगरपालिकाको कूल लागत २१ करोड ४० लाख अमेरीकी डलर रहेको छ । सरकारले आयोजनामा लगानी गर्न एडिबीको साधारण पूँजीगत स्रोतबाट शर्तहरु बमोजिम विभिन्न मुद्रामा १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण लिएको छ । यस ऋणको अवधि आठ वर्षको ग्रेस अवधिसहित ३२ वर्षको हुनेछ । यसैगरी ऋणको वार्षिक ब्याजदर ग्रेस अवधिभर एक प्रतिशत र त्यसपछि एक दशमलव पाँच प्रतिशत रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button