तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षामन्त्रीद्वारा युनेस्को महासभालाई सम्बोधन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले फ्रान्सको पेरिसमा आयोजित संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को ४०औँ महासभा बैठकमा शनिबार नेपालकोतर्फबाट सम्बोधन गर्नुभएको छ ।

पूर्वीय दर्शनमा आधारित उपनिषदको संस्कृत श्लोकबाट सम्बोधन शुरु गर्नुभएका मन्त्री पोखरेलले युनेस्कोको लक्ष्य र पूर्वीय दर्शनको समानान्तरको कुरा राख्नुभएको थियो । महासभामा उहाँले नेपालले हालै जारी गरेको नीति सार्क शिक्षा र संयुक्त राष्ट्रसङ्घको दिगो विकासका लक्ष्य नं ४ का बुँदा पूरा गराउन पूर्वप्राथमिक तहदेखि उच्च शिक्षासम्मका लागि राष्ट्रिय कार्यढाँचा तर्जुमा गरी कार्यान्वयन अघि बढाइएको बताउनुभयो ।

सन् २०२२ सम्म विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि नेपाल अगाडि बढिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले प्रधानमन्त्रीले अघि सार्नुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणाले सन् २०३० सम्मको नेपालको मध्यम आय बन्ने राष्ट्रको लक्ष्यलाई सघाउ पु¥याउने जानकारी गराउनुभयो ।

शिक्षा प्रविधि जस्तै आर्टिफिसल इन्टेलिजेन्टको शिक्षालगायतका राष्ट्रिय महत्वका विषयमा हस्तक्षेपकारी भूमिकालाई प्रभावकारी बनाउन चाहिने प्राविधिकलगायतका सहयोगलाई युनेस्कोलाई आह्वान गर्नुभएको थियो । बुद्ध धर्मको श्लोकद्वारा आफ्नो सम्बोधन अन्त्य गर्नुभएका मन्त्री पोखरलेले सन् २०२० मा नेपालमा आयोजना हुन लागेको नेपाल भ्रमण वर्षका लागि युनेस्कोका महानिर्देशक र उपस्थित सबैलाई निमन्त्रणा पनि दिनुभएको थियो ।

भूकम्पपछिको पुनःनिर्माणको अवस्थाबारे प्रकाश पार्दै उहाँले दिगो विकासको लक्ष्य प्राप्त गर्न सरकारको प्राथमिकतामा विज्ञान, प्रविधि रहेकाले त्यसलाई प्रवद्र्धन गर्न सरकारले अनुसन्धान र नवप्रवर्तनमा युवा वैज्ञानिकलाई प्रोत्साहन गरिरहेको जानकारी गराउनुभयो । यही नोभेम्बर १२ देखि शुरु भएको युनेस्कोको महासभा नोभेम्बर २७ सम्म चल्नेछ ।
–रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button