तपाईँ सुन्दै हुनुहुन्छः

गाईभैंसी किन्न गाउँसरकारको अनुदान

मेलम्ची – गाईभैंसी किन्न गाउँ सरकारबाटै अनुदान पाएपछि त्रिपुरासुन्दरी गाउँपालिका ३ धुस्कुनका किसानहरुमा खुसियाली छाएको छ । स्थानीय धुस्कुन कृषि सहकारीमार्फत गाउँसरकारको अनुदान हात पारेपछि शनिवार धुस्कुनका पशुपालक किसानहरु खुसि देखिन्थे ।

गाउँपालिकाको अनुदानबाट शनिवार धुस्कुन कृषि सहकारीले ७० जना सदस्यलाई गाईभैंसी किन्नका लागि अनुदान उपलव्ध गराएको छ ।

आठौं वार्षिक साधारणसभाका अवसरमा भैंसी खरीदका लागि ५० जनालाई ३० हजारका दरले अनुदान प्रदान गरिएको छ । गाई किन्नका लागि २० जनालाई १५ हजारका दरले अनुदान दिइएको छ । गाउँपालिका र वडाको बजेटबाट सहकारीमार्फत ७० जना किसानलाई गाईभैंसी खरीदका लागि अनुदान दिइएको हो ।

चालु आर्थिक वर्षमा त्रिपुरासुन्दरी गाउँपालिकाले धुस्कुन कृषि सहकारीका लागि १८ लाख रुपैयाँ गाईभैंसी खरिद अनुदान उपलव्ध गराएको र सहकारीले आफ्ना सदस्यहरुलाई सो अनुदान प्रदान गरेको त्रिपुरासुन्दरी गाउँपालिका ३ का वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिनुभयो । ‘पशुपालनमा प्रोत्साहनका लागि गाउँपालिकाबाट १८ लाख अनुदान छुट्याइएको थियो, सहकारीमार्फत किसानका हातमा पु¥याइएको छ’, वडाध्यक्ष रिसालले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले साधारणसभाको उद्घाटन गर्नुभएको थियो । साधारणसभा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले निर्वाहमुखी मात्र नभई व्यवसायिक कृषि र पशुपालनमा लाग्न आग्रह गर्नुभयो । आगामी बर्षका लागि गाईभैंसी खरिदका लागि गाउँपालिकाले २० लाख रुपैयाँ अनुदानको व्यवस्था गरिदिनेसमेत अध्यक्ष श्रेष्ठले घोषणा गर्नुभयो । साधारणसभाका अवसरमा उतकृष्ट कृषकहरलाई सम्मानसमेत गरिएको थियो ।

धुस्कुन कृषि सहकारीका लागि प्रदेश सरकारको उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयले डेरी उद्योग स्थापनाका लागि ३५ लाख बराबरको उपकरण प्रदान गरेको थियो ।

सहकारीका लागि प्रदेश र स्थानीय सरकारबाट महत्वपूर्ण सहयोग मिलेको भन्दै धुस्कुनलाई दुग्धको पकेटक्षेत्रका रुपमा विकास गरिने सहकारीका अध्यक्ष बलराम न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button