तपाईँ सुन्दै हुनुहुन्छः

शरद अरबिन्द बोब्डे भारतको प्रधान न्यायाधीशमा नियुक्त 

नयाँदिल्ली – भारतको ४७औं प्रधान न्यायाधीश पदमा न्यायाधीश शरद अरबिन्द बोब्डे नियुक्त हुनुभएको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा न्यायाधीश बोब्डेलाई प्रधान न्यायाधीशको पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

प्रधान न्यायाधीश रन्जन गोगोईको कार्यकाल समाप्त भएका कारण न्यायाधीश बोब्डे प्रधान न्यायाधीश हुनुभएको हो । गोगोई करिब १३ महिना भारतको प्रधान न्यायाधीश हुनुभएको थियो । उहाँले यही नोभेम्बर १७ मा अवकाश प्राप्त गर्नुभएको थियो ।

शपथग्रहण कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह समेतका उच्च पदस्थ व्यक्ति उपस्थित हुनुहुन्थ्यो ।

न्यायाधीश बोब्डे सन् १९५६ मा भारतको महाराष्ट्रस्थित नागपुरमा जन्मिनु भएको हो । उहाँले नागपुर विश्वविद्यालयबाट कानुनमा एलएलबी र बिए सम्मको अध्ययन गर्नुभएको थियो ।

भारतीय उच्च अदालतमा न्यायाधीश रहेर सेवा गर्नुभएका उहाँ सन् २०१३ मा भारतीय सर्वोच्च अदालतको न्यायाधीशमा पदोन्नति हुनुभएको थियो । न्यायाधीश बोब्डेले आगामी सन् २०२१ को अप्रिल १३ मा अवकाश प्राप्त गर्नु हुनेछ ।   रासस/एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button