तपाईँ सुन्दै हुनुहुन्छः

बलियो ओत लाग्दै चन्द्रमायाको परिवार

काभ्रेपलाञ्चोक । टहरामा कयौँपटक हुरीबतास र बर्षा झेल्दै आउनुभएकी एकल महिला चन्द्रमाया प्रधानको घर बन्ने भएको छ । त्रिपाल र बोराले टालटुल गरेको टहरो उडाएर बास उखेल्ला भन्ने चिन्ता उहाँको मनबाट विस्तारै हट्न थालेको छ ।

गत जेठमा चन्द्रमायाको कठिन जीवनशैलीबारे राससमा समाचार प्रकाशित भएपछि उहाँको घर बनाइदिन अभियन्ताले चासो देखाउँदै आए । राष्ट्रिय पोशाकका अभियान्ता राजानन्द माण्डव्यको अगुवाइमा अहिले घरको जग पूजा गरिएको छ । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य बनेपा निवासी सुरकृष्ण वैद्य, इँटा उद्योग व्यवसायी सङ्घका जिल्ला अध्यक्ष जितेन्द्र खयामलीलगायत स्थानीय व्यवसायीले निर्माण सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

“राससमा प्रकाशित समाचारले मन छोएको थियो, अब चन्द्रमायाको घर बनाउने अभियान नै चलाउँछौँ”, माण्डव्यले भन्नुभयो । उहाँका अनुसार चन्द्रमायाको घर बनाउन विभिन्न क्षेत्रका व्यक्तिबाट पनि सहयोग प्राप्त भइरहेको छ । बनेपा नगरपालिका–७ झापालीटोलस्थित चन्द्रमायाको घर चार वर्षअघिको भूकम्पले भत्काइदियो । दुई छोरीका साथ टहरामा बस्दै आउनुभएकी चन्द्रमायालाई पनि जेठी छोरी जन्मजात शारीरिक अपाङ्गता र सुस्त मनस्थितिकी १२ वर्षकी रमिलाको गत जेठमा राति सुतिरहेका बेला मृत्यु भयो् । छयालीस वर्षीया चन्द्रमायाका श्रीमान् रामभक्त पनि १० वर्षअघि बित्नुभयो ।

बनेपा शहरको बीच भागमा वरिपरि अग्ला पक्की घरले घेरिएको तीनधारा गल्लीमा छ उहाँको असुरक्षित टहरो । भत्किएको घर पन्छाएर एकछेउमा बनाएको टहरा, जहाँ झरीमा पुराना जस्ताका प्वालबाट तप्तप् पानी चुहिन्छ र गर्मीमा हप्हप् हुने गर्दछ । घरको जग पूजा गरेपछि चन्द्रमायाले भन्नुभयो, “अब घरभित्र बस्न पाइएला कि !” उहाँलाई घर बनेपछि भएकी एउटी छोरीलाई सुरक्षितसँग हुर्काउनेबाहेक कुनै रहर देखिन्न ।

अपाङ्गता भएकी छोरीलाई जसोतसो हुर्काइरहेकी चन्द्रमायालाई श्रीमान् बितेकै बखत सुत्केरी हुनुभयो । जसोतसो दुई छोरीलाई बत्ती काटेर हुर्काइरहेकी चन्द्रमायालाई विसं २०७२ वैशाख १२ को भूकम्पले अर्को बज्रपात ग¥यो । हेर्दाहेर्दै उनकै आँखै अगाडि तीनतले घर ढल्यो । रमिला र प्रमिलालाई च्यापेर घिस्रिदै तीन प्राण बचेको घटना सम्झँदा चन्द्रमाया अझै पनि भक्कानिनुहुन्छ ।

“भूम्कपले त्यही सबैको प्राणपखेरु छिनाइदिएको भए यसरी दुःखमाथि दुःख त झेल्नु पर्दैनथ्यो”, चन्द्रमायाले रुँदै भन्नुभयो, “एकातिर सुरक्षित बास छैन, अर्कोतिर गाँस छैन, अब बचेकी एक छोरीलाई हुर्काउनु त छँदै छ, सकेसम्म उनलाई शिक्षा पनि दिनु छ ।” भूकम्पले घर भत्किएपछि सबैले घर ठड््याए । तर, लामो समयसम्म चन्द्रमायाको परिवार भूकम्प लाभग्राहीमा सूचीकृत भएन । भूकम्पपछि बनेपास्थित पुण्यमाता किनारमा भाडामा जसोतसो एउटा टहरो बनाएपछि जग्गा कारोवारीले एक वर्षमै जग्गा बेचियो भनेर हटाइदिए ।

त्यसपछि पनि नजिकै रहेको किनारमा टहरो सारेर बस्नुभएकी चन्द्रमायालाई भत्केको घर नाप्न कहिले सर्वेक्षणकर्ता आए, गए के पत्तै भएन । पुण्यमाताको नदी किनारमा भाडा तिरेर बस्दा पनि निकै पटक बाढीको सामना गर्नुप¥यो चन्द्रमायाले । “जसोतसो अहिले त भूकम्पपीडित लाभग्राही सूचीमा त परेँ, तर घर बनाउन सक्ने औकात छैन”, उहाँले पीडा व्यक्त गर्नुभयो ।

वडाध्यक्ष वर्ण शाक्यले नपाका इञ्जिनीयरलाई घरको डिजाइन र मूल्याङ्कन गर्न लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “चन्द्रमायाको आवासका लागि वडा कार्यालयले आवश्यक कागजात मिलाइ पुनःनिर्माण प्राधिकरणलाई एकै पटक अनुदान दिन अनुरोध गर्नेछौँ र अभियन्ताबाट आएको सहयोगबाट घर पूर्ण बनाइदिनेछौँ ।”

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button