तपाईँ सुन्दै हुनुहुन्छः

बेल्नाले बदलिएकी रञ्जता

चितवन । कलेज जीवन । दिनको आधा समय खाजा पसलमै बित्ने । खाजा खान जाने भए पनि उनको ध्यान खानाको परिकारमा भन्दा खाजा पसलको भित्ता, टेबुल ,कुर्सी, र कामदारमा हुन्थ्यो । अरु साथीहरु खाजाको स्वादमा मस्त तर उनी भने पसलको सजावट मै हराउंँथिन । मनमनै सोच्थिन् –म पनि कुनै दिन यस्तै व्यवसाय चलाएर स्थापित हुन्छु । भरतपुर १० स्थित सप्तगण्डकी रोडमा बेल्ना रेष्टुरेण्ट सञ्चालिका रञ्जता शर्मा अहिले सफल व्यवसायी बनिसकेकी छन् । उनको सपना पुरा भएको छ राम्रो रेष्टुरेन्ट मालिक बन्ने । बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म उनको दैनिकी फेरिएसंँगै व्यस्तता त छंँदै छ ।

भर्खर उमेरले २३ बर्ष टेकेकी रञ्जताको आफ्नै लगानीमा सञ्चालित यो रेष्टुरेण्ट अन्य भन्दा फरक छ । काठमाडौमानै पाइने परिकारको साथ उनले यसलाई सञ्चालन गर्न सफल भएकी छिन । ८ जना कर्मचारी सहित उनी अहिले आफ्नो कर्मथलोलाई सिंगार्दै छिन । तर यो अबस्थामा आउंँदा सम्म उनको परिस्थिति र हिम्मतले मात्र सम्भव भएको हो । “ यो सबै सम्भब मेरो मेहनत र आत्माविश्वासले भएको हो ” उनी भन्छिन् ।
पर्वत जिल्लाको र्दुलुङ्ग गाउंँमा सामान्य परिवारमा जन्मेकी उनी ७ दिदीबिहिनीमा काईली छोरी हुन । तर उनको कथा र विगत भने कम दर्दनाक छैन । ६, ७ बर्षकै उमेरमा चट्याङ्गका कारण आमा गुमाइन , त्यसपछि उनको जीवन झनै कष्टकर हुदै गयो । यत्रो ठूलो परिवार सम्हाल्न उनको बुबाको सामथ्र्यले सकेन । उनी भन्छिन, ‘मेरो पढाइको लागि मामाले चितवन ल्याउनु भयो; उनी भन्छिन् ।

त्यसपछि उनको प्रारम्भिक शिक्षा प्रारम्भ भयो । । त्यसपछि उनलाई निशुल्क शिक्षा दिक्षा दिने भरतपुरको एसओएस बालग्राममा अध्ययन गर्ने अवसर मिल्यो ।
पढाइमा निकै तीक्ष्ण, अब्बल उनले सरासर एसएलसी पास गरिन् । उनी भन्छिन , ‘एसओएस नभएको भए मेरो भविष्य कता पुग्थ्यो मलाई थाछैन ।’ पढाइमा तीक्ष्ण भएर होला कलेजको पढाइमा पनि एसओएसलेनै उनलाई सहयोग गर्यो त्यतिबेला । एसओएसको पढाईपछि उनी भरतपुरकै अरोमा कलेजमा व्यवस्थापन नै पढ्थिन , त्यहांँ उनले राम्रै श्रेणी ल्याएर पास गरिन । त्यसपछि पनि एसओएस ले नै पढ्न उनलाई सहयोग गर्यो अनि भर्ना भईन बोस्टन कलेज भरतपुरमै ।

त्यहांँपनि उनको दक्षता बढ्दै गयो । सरासर पास गर्दै गइन । हाल उनी बिबिएको अन्तिम परीक्षाको नतिजाको पर्खाइमा छिन । परिवारमा आफूमाथि दिदीहरुको सबै बिहे भयो । घरमा वृद्ध भइसकेका बुबा जसका कारण उनमा व्यवहारिक भार पर्नेनै भयो, साथै अर्को उनको भविष्यको पनि । यही समयको सदुपयोग गर्दै उनी रेष्टुरेन्ट खोल्ने शिलशिलामा काठमाडौ गईन । उनी भन्छिन , ‘आफूलाई आत्मविश्वास बढाउन र ग्राहकको चाहनालाई परिपूर्ती म गर्न काठमाडौं पुगें ।’

उनी यही शिलशिलामा पहिलो पटक पुग्दा इन्द््रचोकमा रहेको लस्सी पसलमा लस्सी खादै साहुजी संँग कुरा गरिन । फेरी अर्कोदिन पानीपुडीको व्यवसायको लागि पाटन पुगिन । कहिले काटी रोल बनाउने ठाउंँमा पुगिन । उनको अधिकांश समय रेष्टुरेण्ट र फरक परिकार चाख्ने , ग्राहकको इक्ष्छा बुझ्ने र कसरी बनाउने भन्नेमै केन्द्रीत रहन्थ्यो् त्यतिबेला ।

‘मैले यो अवधिमा थुप्रै अनुभव र आत्मविश्वार बटुंँले’ उनले थपिन् । त्यसो त कलेजमा पनि कसरी उद्यमी बन्ने , कसरी व्यवसायमा स्थापित हुने सैदान्तिक र व्यवहारिक कक्षा भइरहन्थ्यो । ‘यो सबै कुराले मलाई रेष्टुरेण्ट खोल्ने मैले निर्णय लिन सक्षम भएंँ ।’ उनले रेष्टुरेण्ट खोल्ने बारेको पोको फुकाइन । त्यसपछि कहांँ खोल्ने भन्ने कौतुहलताले सतायो । भरतपुरमा विभिन्न गल्ली चाहारिन , हिड्दै जांँदा उनले सप्तगडकी रोडमा बन्दै गरेको जस्ताको छानो भएको सटर भेटाइन ।

‘अनि मैले सविस्तार घरमालिक संँग कुरा गरें ’ उनले थपिन् । खोल्नको लागि इच्छा मात्र भएर भएन त्यसको लागि मुख्य कुरा लगानी थियो । यसको लागि उनले थुप्रै व्यक्ति , सहकारी संँग ऋण मागिन , यसमा केही रकम एसओएसले पनि सहयोग ग¥यो । अन्तिममा उनको इच्छा पुरा भएर छाड्यो । अनि रकम हात परेपछि रेष्टुरेण्टको संरचना निर्माणमा व्यस्त भइन । ‘म मा अहिले झनै आत्म विश्वास पलाएको छ, व्यवसायले गति पनि लिदै गएको छ ।’ उनी उत्साहित हुन्छिन् । हाल उनको मुख्य ग्राहक भनेका र डाक्टर, नर्स र बैंकका कर्मचारी हुन । हुन त उनले रेष्टुरेण्ट वरिपरिका व्यवसायिक संस्था, शैक्षिक सस्था, अस्पताल , बैंक लगायतका प्रतिष्ठानमा खाजा डेलिभरि गरेर सेवापनि दिईरहेकी छन् । “यसका लागि अलग्गै २ जना स्टाफ खटाएकी छु” उनले भनिन् ।

उनका साथीसंगी बाबुआमाको कमाई आश्रित भइरहेका छन । कोही विदेश जाने सुरसारमा छन् । ‘मलाई बिदेश जाने मोहले कहिल्यै सताएन नत अर्काकै भरमा बस्ने मन भयो’ उनले सुनाईन । २३ बर्षकी केटीले यत्रो रेष्टुरेण्ट चलाउंँदा धेरैले प्रशंसा गरेकोले थप जिम्मेवारी महसुस भएको छ भने उत्साह जगाएको पनि छ । उनलाई । ४ महिना देखि सञ्चालन हुदै आएको यो रेष्टुरेण्टमा करीब १२ लाख लगानी छ । व्यवसायको आम्दानीले उनले ऋण र सापट पनि तिर्दै गएकी छन् उनले । महिनाको २ देखि ३ लाख आम्दानी हुने बताउने उनी भविष्यमा आफ्नो रेष्टुरण्टको शाखा विस्तार गर्दै पढाइलाई निरन्तरता दिने इच्छा राख्छिन ।

उनको उत्साह र मेहनले उनलाई यहाँ सम्म ल्याएको छ । विभिन्न ठाउँमा आफ्नो रेष्टुरेन्टको शाखाहरु खोल्ने उनको योजना पनि पुरा होस् । रोजगारीका लागि लाखौं खर्च गरेर विदेशमा भौतारिएका यूवाहरुका लागि रञ्जता प्रेरणा बन्न सक्छिन् । उनीहरुलाई रञ्जताको सन्देश छ – देशमै सुन फलाउन सकिन्छ साहस र हिम्मत गरौं ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button