तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्रीका कामलाई पारदर्शी ढङ्गले जनतासँग पुर्याउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।

उहाँले आजैदेखि सल्लाहकारको कार्य थालनी गर्नु भएको छ । उहाँले सूचना प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर नराख्ने भन्दै जुनसुकै बेला पनि सञ्चारकर्मीसँग समन्वय गर्ने बताउनुभयो ।

सल्लाहकार थापाले प्रधानमन्त्रीसँग सम्बन्धित कुराको प्रेस विज्ञप्तिमार्फत सञ्चारमाध्यमलाई जानकारी गराउने समेत बताउनुभयो । पारदर्शीतालाई जोड दिने भन्दै उहाँले प्रधानमन्त्री र सरकारका जिम्मेदारीका कतिपय संवेदनशील कुरालाई भने सञ्चारकर्मीसँगको छलफलबाट समाधान गर्ने समेत बताउनुभयो ।

उहाँले अहिले सञ्चारमाध्यममा अतिरन्जित र गलत समाचार आउने समस्या रहेको भन्दै त्यस्ता समाचारलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले राम्रो काम गर्दा स्यावासी र गलत काम गर्दा खबरदारी समेत गर्न उहाँले आग्रह गर्नुभयो । सल्लाहकार थापाले सरकारका राम्रो कामको सम्प्रेषण नभएको भन्दै मन्त्रालयगत रुपमा एकीकृत ढङ्गले सबै मन्त्रालयका गतिविधिलाई सम्प्रेषण समेत गरिने जानकारी गराउनुभयो ।

भेटघाट कार्यक्रममा सञ्चारकर्मीले प्रधानमन्त्रीका गतिविधिलाई सहजरुपमा उपलब्ध गराउन आग्रह गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button