तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी समाचार महोत्सव : सूचनालाई विकासँग जोड्नुपर्ने निष्कर्ष

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित लुम्बिनी समाचार महोत्सव २०७६ ले सूचनाको हकसम्बन्धी कानूनलाई प्रेसजगत्मा मात्र सीमित नराखी जनताका अन्य मौलिक अधिकारको बहालीका लागि उपयोगि बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

सूचनाको हकसम्बन्धी कानूनलाई जनअधिकारका रूपमा परिमार्जन गरी सूचनामा पहुँच, पहुँचलाई विकास र विकासलाई समृद्धिसँग गाँस्ने मूल आधार बनाउनुपर्नेलगायत निष्कर्ष महोत्सवमा निकालेको छ ।

यस्तै मानिसलाई अन्य अधिकारभन्दा सूचना र सञ्चारको अधिकार महत्वपूर्ण रहेकाले एक्काइसाँै शताब्दीको लोकतन्त्रमा आमजनतालाई सूचनासम्पन्न र ज्ञानवान् बनाउनु राज्यको प्रमुख कर्तव्य भएकोसमेत महोत्सवमा निष्कर्ष निकालिएको छ ।

लुम्बिनी प्रेस क्लब रुपन्देहीले बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित महोत्सवमा समृद्धिका लागि सञ्चार क्षेत्रको पुनःसंरचना गरी सूचना र ज्ञानयुक्त समाजको सिर्जना गरी नेपालीको जीवनस्तर उकास्ने, आर्थिक समृद्धि र विकास प्राप्ति गर्ने, विश्वमा नेपालको छवि उँचो बनाउने र गणतन्त्रलाई सुदृढ बनाउन सञ्चार क्षेत्रका तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

समाचार महोत्सवले सरकार सञ्चालित सञ्चारमाध्यमहरूको पुनःसंरचना गरी ग्लोबल तथा नाफामुखी मिडियाको दुष्प्रभाव र एकाधिकार घटाउने प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने साथै साना, स्थानीय, सामुदायिक तथा जनताद्वारा सञ्चालित मिडियाहरुलाई संरक्षण र प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न पनि सङ्घ, प्रदेश र स्थानीय तहका सरकारलाई अनुरोध गरिएको छ ।

यस्तै नेपाली मिडियामा व्याप्त केन्द्र र मोफसल भन्ने अवधारणा समाप्त पार्दै आफू कार्यरत सङ्घ हरेक प्रदेश र स्थानीय तहलाई नै केन्द्र मान्दै आआफ्ना क्षेत्रका समाचार र विचार जनता, सरकार र सम्बन्धित निकायमा व्यापक रुपले पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

महोत्सवले पत्रकार आचारसंहिता दृढतापूर्वक पालना गर्दै व्यावसायिक पत्रकारिताप्रति प्रतिबद्ध रहने र राजनीतिक दलसँगको आबद्धता साथै सरकार निकट बन्ने सोचाइबाट पूर्णरुपमा मुक्त हुनेसमेत प्रण गरिएको छ ।

पत्रकारिताको पेशाप्रति पूर्ण निष्ठावान् भई आफूलाई सबै प्रकारका प्रविधि एवं सीपबाट सुसज्जित हुँदै न्यू मिडिया न्यू मिडियम, ट्रेडिशनल मिडियम आदिको व्यापक प्रयोग गरी नेपाली पत्रकारितालाई स्मार्ट जर्नालिज्म उन्मुख गराउने अठोटसमेत व्यक्त गरिएको छ ।

यस्तै भूमण्डलीय तथा नाफामुखी मिडियाको दुष्प्रभावबाट जनतालाई जोगाउन र जनताको सञ्चार अधिकार सुरक्षित गर्न साना तथा सामुदायिक मिडियाको प्रवद्र्धन प्रोत्साहन गर्न यो महोत्सवले आह्वान गरेको छ ।

महोत्सवले नयाँ प्रविधिले ल्याएको नयाँ परिवेश, मिडिया विविधीकरणका आधारमा मिडियासम्बन्धी कानूनहरूको परिमार्जन गरी नयाँ प्रविधिलाई ध्यानमा राखी डिजिटल र इलेक्ट्रोनिक मिडियासम्बन्धी प्रतिकल कानूनहरूमा तत्काल परिमार्जन गरी समयसापेक्ष बनाउनसमेत माग गरिएको छ ।

लुम्बिनीलाई बौद्ध दर्शन र विश्वशान्तिको केन्द्र बनाउने अवधारणालाई आत्मसात् गर्दै ४२ वर्षअघि निर्मित लुम्बिनी गुरुयोजना यथाशक्य कार्यान्वयन गर्न सङ्घीय सरकार र लुम्बिनी विकास कोषलाई आग्रह गरिएको छ ।

यस्तै शाक्यमुनि गौतम बुद्ध तथा कनकमुनि एवं क्रकुच्छन्द बुद्ध जन्मसँग सम्बन्धित सबै स्थल, लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह आदि स्थानहरुको संरक्षण, प्रवद्र्धन र पर्यटकीय विकास गर्न सम्बन्धित सरोकार पक्षसँग आग्रह गर्दै यस विषयलाई निरन्तर रुपमा मिडियामार्फत उजागर गर्ने प्रतिबद्धतासमेत महोत्सवमा व्यक्त गरिएको छ ।

यस्तै नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६ लाई प्रवद्र्धन गर्न सञ्चारमाध्यममार्फत सहयोग गर्ने प्रतिबद्धतासमेत महोत्सवमार्फत व्यक्त गरिएको छ । यसका साथै सरकारी सञ्चारमाध्यम एवं निजी सञ्चारमाध्यमलाई जनशक्तिको व्यवस्था र विषयगत हिसाबले समावेशी बनाउन महोत्सव सम्बन्धित पक्षलाई आह्वान गर्दछ ।

निष्कर्ष लेखनमा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यको संयोजकत्वमा राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक श्यामप्रसाद रिमाल, नेपाल पत्रकार महासङ्घको केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, नेपाल पत्रकार महासङ्घका प्रदेश नं ५ का अध्यक्ष मौसम रोका र लुम्बिनी प्रेस क्लबका महासचिव सम्झना शर्मा सदस्य रहनुभएको थियो ।

तीन दिनसम्म आयोजित समाचार महोत्सवको आज अन्तिम दिन सङ्घीयतामा टेलिभिजन, सङ्घीयतामा समावेशी सञ्चार र लुम्बिनी भ्रमण वर्ष २०७६ र प्रचारप्रसार विषयमा अलगअलग छलफल चलाइएको थियो ।

कार्यक्रममा राजधानीलगायत विभिन्न क्षेत्रबाट आएका विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरुले विभिन्न विषयमा छलफल गरेका थिए । कार्यक्रममा देशभरिका करिब ३०० भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button