तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक शौचालय निर्माणका लागि ढाँचा तयार   

काठमाडौँ –  काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि ढाँचा तयार गरेको छ । झण्डै पाँच वर्षदेखि सार्वजनिक शौचालय निर्माण गर्ने तयारीमा जुटेको कामपाले यस चालू आर्थिक वर्षमा भने निर्माणको काम थाल्ने जानकारी गराएको छ ।

कामपा शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले २० प्रकारको ढाँचा तयार भएको र तयारीमध्ये आवश्यक स्थान र बजेटको आधारमा निर्माणको काम शुरु गर्ने तयारी रहेको छ । उपाध्यक्ष बस्नेतले भन्नुभयो, “यसरी बनाइएका ढाँचामा एक पटकमा एक जनाका लागि मात्र उपयुक्त हुनेदेखि एकैपटक तीन जनासम्मले प्रयोग गर्न सक्ने खालका, शौच कार्यका साथै नुहाउन मिल्ने खालका पनि छन्”, यिनीहरु सबैको पहुँचयुक्त हुन्छन् ।” उहाँका अनुसार यसरी बनाइएका डिजाइन कम्तीमा रु १५ लाख र बढीमा रु एक करोड लागतका छन् ।

शौचालयको समस्या समाधान भयो भने काठमाडौँमा आवतजावत गर्ने यात्रुको मुख्य समस्या समाधान हुने भन्दै उपाध्यक्ष बस्नेतले भएका सार्वजनिक शौचालयको अवस्था सुधार गर्ने र नयाँ निर्माण गर्ने कामलाई बराबरी महत्व दिएर महानगरले काम गरिरहेको बताउनुभयो ।

शहरमा सार्वजनिक शौचालय निर्माण गर्ने कुरासँगै यसको दिगो उपयोग गर्ने कुरा, शौचालयबाट निष्काशन भएको फोहर व्यवस्थापनको कुरा महत्वका साथ समाधान गरिनुपर्छ ।

काठमाडौँ उपत्यकामा ११५ सार्वजनिक शौचालय रहेका र त्यसमा कामपामा ५८ रहेका छन् । कामपामा रहेकामध्ये २८ मात्र प्रयोगमा छन् । अन्य पानीको अभाव र फोहरका कारण प्रयोगविहीन रहेको कामपाले जनाएको छ ।

प्रयोगमा भएकाको पनि सरसफाइको अभाव, साबुन र पानी नहुनु, महिलाको मासिक तालिकाका लागि आवश्यक पर्ने स्यानेटरी प्याड प्राप्त नहुनु, महिला र अपाङ्गता भएका व्यक्तिका लागि प्रयोग अनुकूल नहुनुजस्ता समस्या रहेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button