तपाईँ सुन्दै हुनुहुन्छः

‘आर्ट थेरापी’ : आघातमा राहत   

काठमाडौँ – प्राकृतिक विपद् वा दुर्घटनामा आफन्त गुमाएर आघातमा परेका व्यक्तिको जीवन बदल्न कला मनोचिकित्सा (आर्ट थेरापी) महत्वपूर्ण माध्यम हुने मनोविद्हरु बताउँछन् ।

खुशी या दुःख, जुनसुकै अवस्थामा कला सिर्जनाको अहम् भूमिका रहन्छ । ढुङ्गेयुगमा मानिसहरुले ढुङ्गा या रूखको बोक्रामा चित्र बनाएर आफ्ना भावना अभिव्यक्त गर्थे । अबोध बालबालिकाले पनि कुनै वस्तुमा कोरेर भावना व्यक्त गरिरहेका हुन्छन् ।

अन्तर्राष्ट्रिय आर्ट थेरापिष्ट डा मोनिका वाङ भन्नुहुन्छ, “आर्ट थेरापीबाट पीडितले खुला र विश्वासको वातावरण महसुस गर्छन् र अन्तरनिहित क्षमतालाई बाहिरी संसारसँग जोड्न सहयोग पु¥याउँछ, व्यक्तिगत भावना उजिल्याउन सहयोग गर्छ र अन्य व्यक्तिसँग सञ्चार सम्पर्क गर्न मद्दत गर्छ, जसले आफूलाई बुझ्न सक्छ, अनि व्यवहार परिवर्तन हुनजान्छ ।”

‘आर्ट थेरापी’मार्फत आघातमा परेका व्यक्तिहरुले सोझै भन्न नसकेको कुरा सजिलै अभिव्यक्त गर्नसक्छ । चित्रकलामा उसको मनोविज्ञान पोखिन्छ । कुनै घटनामा आघात परेमा उसले चित्रमा अभिव्यक्त गर्दा पीडा त्यसै कम भएर जाने मनोविद् डा नरेन्द्रकुमार ठगुन्ना बताउनुहुन्छ । आर्ट थेरापीसँगै लाफिङ र डान्सिङ, थेरापीको पनि प्रयोग हुन्छ ।

चितवनको सैनिक आवासीय महाविद्यालयका शिक्षक तथा मनोविमर्शकर्ता गोपीलाल श्रेष्ठ र रेडक्रसको प्राथमिक उपचार सेवाका प्रशिक्षक नेत्रबन्धु पोखरेलले आफ्ना अभिव्यक्ति आज चित्रमार्फत दिनुभयो । आघातमा परेका व्यक्तिको सुधारका लागि प्रयोग गरिने आर्ट थेरापी पद्धतिको उचित ज्ञान हासिल गर्न उहाँहरु व्यावहारिक सीप हासिल गर्न उहाँहरु आफैँले उक्त चित्रकलामा सहभागी हुनुभएको हो ।

“उसको मनको भावना चित्रमा पोखिन्छ, यदि उसले कसैलाई माया गरेको छ भने स्पष्ट र मायालु चित्र बनाउँछ, यदि कोहीप्रति रिस उठेको भए कर्याङ्कुरुङ खालको नबुझिने चित्र बनाउँछ, चित्र मानिसको मनोभावना बुझ्ने उपयुक्त साधन हो”, श्रेष्ठले भन्नुभयो । उसको अभिव्यक्तिको आधारमा कुन उपचार पद्धति अपनाउने भनेर निक्र्यौल गर्न सजिलो हुने पोखरेलको बुझाइ छ ।

चित्रकलाले मानिसका गडेर रहेको नकारात्मक सोच र पीडा कम गर्न सहयोग पुग्छ । प्राथमिक शिक्षाबाटै मनोविमर्शका विभिन्न माध्यामबारे विद्यार्थीलाई जानकारी गराउनसके अझै प्रभावकारी हुने सहभागीहरुको बुझाइ छ ।

शिक्षकले विद्यार्थीलाई यातना दिएर अध्ययन गराइरहेका घटना हुनुमा मनोविमर्शसेवाको अभाव नै मुख्य कुरा हो । “स्कूलमा पढेन भनेर बच्चालाई दोष दिने चलन छ, शिक्षक आफू विद्यार्थीको मनोविज्ञान बुझ्न र पठन पद्धतिमा कति कमजोर छु भनेर कहिल्यै मूल्याङ्कन गर्दैन, जुन कारण समस्या बल्झिन्छ”, द स्कूल अफ साइकोलोजी नेपालका कार्यक्रम संयोजक जोत्स्ना डाँगी भन्नुहुन्छ ।

विश्वमै हरेक चार जनामध्ये एकमा कुनै न कुनै मनोसामाजिक समस्या हुन्छ । प्रभावितमध्ये ९७ प्रतिशत समस्या मनोविमर्श सेवाको माध्यमबाटै समाधान गर्न सकिने मनोविद्को भनाइ छ । द स्कूल अफ साइकोलोजी नेपालका अध्यक्ष डा नरेन्द्रकुमार ठगुन्नाले आर्ट थेरापीमार्फत आघातमा परेकाहरुलाई कसरी मनोसामाजिक सेवा प्रदान गर्ने भन्ने सीप सिकाउन अन्तर्राष्ट्रिय प्रशिक्षक ल्याएर तालीम प्रदान गरिएको बताउनुभयो ।

उहाँका अनुसार यसपटक मनोसामाजिक सेवाको क्षेत्रमा काम गर्ने नेपाल र भारतका ३० भन्दा बढी सहभागिलाई हङ्कङ निवासी अन्तर्राष्ट्रिय आर्ट थेरापिष्ट डा मोनिका वाङ र चीनको राजधानी बेइजिङका ललितकलाका प्राध्यापक चु योङ ग्वाङले प्रशिक्षण दिइरहनुभएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button