तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा बिवाहपञ्चमीको तयारी युद्धस्तरमा

जनकपुरधाम । जनकपुरधाममा प्रत्येक वर्ष मनाईने श्री सीतराम विवाहपञ्चमी महोत्सवको तयारी तीब्र रुपमा भइरहेको छ । मंसिर १० गते नगर दर्शनसँगै शुरु हुने सप्ताहव्यापी बिवाहपञ्चमी महोत्सव १६ गतेसम्म चल्ने कार्यक्रम रहेको छ ।

पाँच वर्षको अन्तरालमा भारतको अयोध्याबाट जन्ति आउने परम्परालाई यस पटक पनि निरन्तरता दिदै बाजागाजा तथा झाँकी्सहित पाच सयको संख्यामा बिशिष्ट साधुसन्तहरु जन्तिको रुपमा जनकपुरधाम आउन लाग्नु भएको छ ।

बिश्व हिन्दू परिषदका मन्त्री राजेन्द्र पंकजको अगुवाई तथा रामजन्म भूमि अयोध्याका सदस्य एवं महन्थ कमलनयन दास जी महाराजको नेतृत्वमा जन्ति आउन लागेको छ ।

जन्तिहरु भारतको बिभिन्न धार्मिक स्थलहरुमा रात्री विश्राम गर्दै मंसिर १३ गते जनकपुरधाम आउने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ एवं बिवाह पञ्चमी महोत्सव मूल समारोह समितिका अध्यक्ष रामरोशन दास वैष्णवले जानकारी दिनुभयो ।

जन्तिको स्वागत तथा जानकी मन्दिरमा बिशेष पूजा अर्चना एवं सम्वोधनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पनि जनकपुरधाम आउने कार्यक्रम तय भएका कारणले जनकपुरको सुरक्षा व्यवस्था अहिलेदेखि नै कडा बनाउने कामकाज भएको छ ।

सप्ताहव्यापी विवाह महोत्व अन्तर्गत १३ गते स्वयंम्बर हुने कार्यक्रम रहेको र त्यसको तयारी पनि बाह्र बिघा रङ्गभूमि मैदानमा नै गरिएको छ । १५ गते विवाह उत्सव रहेको र त्यस दिन जनकपुर भरि नै नेपाली सेनाको हेलिकप्टरले पुष्पबृष्टि गर्ने कार्यक्रम रहेको छ ।

सप्ताहव्यापी बिवाहपञ्चमीमा १० लाख स्वदेशी तथा विदेशी भक्तजनहरु सहभागी हुने बिस्वास मूल समारोह समितिको रहेको छ । विवाह पञ्चमीमा आउनेहरुको लागि आवास, भोजन तथा स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि सरकारी, नीजि तथा संस्थागत रुपामा व्यवस्थापनको कामकाज भइसकेको छ ।

बिवाह पञ्चमी महोत्सव अन्तर्गत मंसिर १० गते नगर दर्शन, ११ गते फूलवारी लिला, १२ गते धनुषयज्ञ, १३ गते स्वयंम्बर, १४ गते मटकोर, १५ गते शुभ विवाह तथा १६ गते रामकलेवासंगै विवाहपञ्चमीको समापन गरिने कार्यक्रम रहेको छ ।

श्री सीताराम विवाह पञ्चमी महोत्वसका लागि जानकी मन्दिर परिसरमा रामकथा, रामलिलासहितको धार्मिक अनुष्ठानहरु शुरु भईसकेको छ । यस पटक भारतको अयोध्यामा राममन्दिरको निर्माण हुने भएपछि जानकी जन्मभूमि जनकपुरधाममा पनि साधुसन्त तथा आम हिन्दूहरुमा विशेष उत्साह रहेकाले श्री सीताराम बिवाहपञ्चमीको भव्य तयारी भइरहेको छ ।

यसले पर्यटन वर्षमा पनि ठूलो मद्दत पुग्ने बिश्वास होटल व्यवसायी संघका प्रदेश सल्लाहकार बरिष्ठ होटल व्यवसायी दशरथ साहको रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button