तपाईँ सुन्दै हुनुहुन्छः

सङ्खुवासभामा प्रदेशस्तरीय लाखेनाच

सङ्खुवासभा। सङ्खुवासभाको पुरानो व्यापारिक केन्द्र चैनपुरमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर प्रदेशस्तरीय लाखेनाच प्रतियोगिता आयोजना गरिएको छ । नजिकिँदै गरेको भ्रमण वर्ष सफल पार्न, नेवार जातिको संस्कृति प्रदर्शन गरेर पर्यटक भित्र्याउन र लाखेनाचको संरक्षण गर्न नेवा देय दबु र चैनपुर समाजसेवा युवा क्लबले यसको आयोजना गरेका हुन् ।

‘कला र संस्कृतिको संरक्षण, पहिचान र पर्यटनको प्रवद्र्धन’ भन्ने नाराका साथ यही मङ्सिर ७ गतेदेखि शुरु भएको प्रतियोगितामा झिगु नेवा पुच उदयपुर पहिला, अमृत तीनधारा लाखे समूह भोजपुर टक्सार दोस्रा र नेवा देय दवु सिभुवा संखुवासभा तेस्रा भएका थिए ।
प्रतियोगितामा सात जिल्लाका १३ प्रतिस्पर्धी समूह सहभागी थिए । केही औपचारिक कार्यक्रम र मेला महोत्सवमा बाहेक आफ्नो संस्कृतिको चर्चासम्म हुन छाडेपछि लाखे नाच प्रतियोगिता आयोजना गरेर संरक्षण अभियान शुरुआत गरिएको आयोजक चैनपुर समाज सेवा युवा क्लबका अध्यक्ष रञ्जन श्रेष्ठले बताउनुभयो ।

हरेक वर्ष नाग पञ्चमीदेखि शुरु हुने लाखेजात्रा कृष्णजन्माष्टमीको भोलिपल्ट नवमीको दिन कृष्ण र कंसको नाच देखाएपछि विधिवत् अन्त्य हुन्छ । प्रतियोगितामा विजयी उदयपुरले रु ५५ हजार, भोजपुर टक्सारले रु ३३ हजार र सिभुवाले रु २२ हजार पुरस्कारसमेत जितेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button