तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भाषाका गद्यगुरुको १६३ औँ जन्मजयन्ती 

काठमाडौँ –  निष्ठानन्द स्मृति गुठीले नेपाल भाषाका गद्यगुरु पं निष्ठानन्द बज्राचार्यको १६३औँ जन्मजयन्तीका अवसरमा आज ओमबहालमा स्मृतिसभाको आयोजना गर्यो ।

नेपाल भाषा साहित्यका एक हस्तीका स्मरण गरिँदै आएका पण्डित बज्राचार्यले गौतम बुद्धको जीवनीमा आधारित ‘ललित विस्तार’ नामक बौद्धग्रन्थलाई नेपाल भाषामा अनुवाद गर्नुभएको थियो । बौद्ध धर्मावलम्बीर्ले सो ग्रन्थलाई महत्वपूणरुपमा लिँदै आएका छन् । बुद्धको जीवनी अध्ययन गर्न चाहने अनुसन्धानकर्ताका लागि यो ग्रन्थ उपयोगी मानिन्छ ।

नेपाल भाषा पुनर्जागरणकालका अग्रणी बज्राचार्यको जन्मजयन्तीका अवसरमा बज्राचार्य क्लबले दीप प्रज्वलन पनि गरेको थियो । उहाँप्रति साहित्यकार सुवर्ण शाक्य, पवित्र बज्राचार्यलगायतले श्रद्धा व्यक्त गर्नुभएको थियो ।

नेसं ९७८ थिंलाथ्व चौथीका दिन ओमबहालमा जन्मनुभएका पं निष्ठानन्दले त्यसबेला पद्य शैलीमा साहित्य लेखन प्रचलन हुँदै आएकामा गद्य शैलीमा पनि नेपाल भाषामा साहित्य सिर्जना गरी नयाँ अभियानको आरम्भ गर्नुभएको थियो । उहाँले अनुवाद गरेका पुस्तक नेपालमा प्रेस नभएका कारण भारतको कलकत्ता पुगेर कम्पोज गर्ने प्रविधि सिकेर छपाइ अक्षर मगाएर प्रकाशन भएको थियो ।

उहाँको बौद्धग्रन्थ ‘ललित विस्तर’ नेसं १०२९ मा प्रकाशन भएको थियो । उहाँले ‘बोधिचर्यावतार’ तथा ‘आर्यभद्रचरी’ पुस्तकको पनि अनुवाद गर्नुभएको थियो । नेसं १०५५ मा बज्राचार्यको निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button