तपाईँ सुन्दै हुनुहुन्छः

निर्माणाधीन एकीकृत भन्सारको कामले गति लियो

रसुवा । नेपाल र चीनबीचको द्विपक्षीय व्यापारलाई सहज पार्ने लक्ष्यका साथ रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सारको कामले गति लिएको छ ।

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार दुई देशको सीमा क्षेत्रमा पूर्वाधार विकास निर्माणअन्तर्गत शुरु भएको एकीकृत भन्सार भवन निर्माणका लागि भुइँ सतहमा जमीन सम्याई संरचनाको प्रारूप निस्किसकेकाले तीन वर्षभित्र निर्माण हुने अपेक्षा गरिएको छ ।

गत बैशाखबाट निर्माण शुरु भएको सो कार्यालय भवन निर्माण भएपछि विदेशी मुद्रा सटही, बैंक, अध्यागमन एवं आयात–निर्यातका पशु एवं कृषिजन्य सामानको गुणस्तर परीक्षण गर्ने क्वारेन्टाइन कार्यालय र सुरक्षा अङ्गका निकायलाई एकीकृत रूपमा कार्य गर्न सहज हुने छ । सो भवन निर्माणको लागत ५५ करोड रहेको प्रमुख भन्सार अधिकृत खड्काले बताउनुभयो ।

आयात–निर्यातका सामग्री परीक्षणका लागि रसुवागढी क्षेत्रमा स्थापित यत्रतत्र रहेका सरकारी निकाय एकीकृत भएपछि सेवा प्रवाहमा थप प्रभावकारी हुने व्यापारी तथा व्यवसायीहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button