२०७६ साल मंसिर २० गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमको भुँवाखेल शुरु

रेडियो नेपाल २०७६ मंसिर १७ गते ७:५५

डोटी-सुदूरपश्चिम प्रदेशको डेउडापछिको दोस्रो ठूलो खेल (नाच) भुँवाखेल सोमबार यहाँ पनि शुरु भएको छ । दिपायल सिलगढी नगरपालिका–५, बागठाटा गाउँबाट उक्त खेल शुरु भएको हो । करीब पाँचदेखि सात दिनसम्म खेल खेलिने भएको सो वडाध्यक्ष मदन भण्डारीले बताउनुभयो । उहाँका अनुसार डोटी राजाका पालादेखि भुवाँखेल खेल्न शुरु गरिएको हो । कम्तीमा पनि पाँच किसिमका बाजाका तालमा सातदेखि आठ प्रकारसम्म भुवाँखेल खेलिन्छ ।

सैनिकले तालीमस्वरुप पनि यो खेल खेल्ने गर्छन् । युद्ध मैदानमा दुश्मनसँग कसरी लड्ने र विजय हासिल गर्ने भन्ने कला पनि उक्त नाचमा देखाइने गरेको स्थानीयवासी तथा नेपाली काङ्ग्रेसका नेता विजय खड्काले बताउनुभयो ।

हातहातमा नाङ्गो तरबार बोकी खेलाडीले पुरानो राजाको पालाका पोशाक पहिरिएर पङ्क्तिबद्ध तरिकाले यो खेल खेल्ने गर्छन् । विजयादशमीको दिन जिल्ला सदरमुकाम सिलगढीको कालढुङ्गा भन्ने ठाउँमा उराउ बाजा बजाएपछि यो खेल शुरु हुने भए पनि यहाँका स्थानीयवासीले मङ्सिरको तेस्रो सातामा मात्र उक्त खेलको शुरुआत गर्ने गरेको स्थानीयवासी दीपकबहादुर भण्डारीले बताउनुभयो ।

भुँवाखेल डोटीलगायत यहाँका पहाडी जिल्ला बाजुरा, अछाम तथा बझाङमा समेत खेल्ने गरिन्छ । दिनमा नाङ्गो तरबारले भुँवा खेल्ने तथा राति सुदूरपश्चिमेली डेउडा तथा प्राचीन राजारजौटाका बारेमा डेउडा खेल खेल्ने चलन रहेको स्थानीयवासी बताउँछन् । नाच अवधिमा डोटीको प्रसिद्ध देवी शैलेश्वरी, जिल्ला प्रशासन कार्यालय तथा पूर्वराणाकालीन दरबार डोटी गौँडामा समेत यो खेल देखाई छैटाँै दिनमा कालढुङ्गामा नै गएर विसर्जन हुने गरेको दिपायलका गणेश भण्डारीले बताउनुभयो । यो खेलमा सबैभन्दा महत्वपूर्ण तथा रोचक मानिने ‘घाँ’ नाच हो । यसमा दुई खेलाडीले हातमा नाङ्गो तरबार समाती नाच्दानाच्दै एकार्कालाई हिर्काउने र आफूलाई तरबारबाट बचाउन छेक्ने गर्छन् ।

भुँवा डेउडामा सबै खेलाडी सामेल हुने भए पनि ‘घाँ’ खेलमा भने सबैलाई समावेश गरिँदैन । यस खेलमा चोटपटक लाग्न सक्ने भएकाले पोख्तलाई मात्रै खेल्न दिने नियम रहेको ‘घाँ’ खेलका सिपालु स्थानीयवासी डम्बरबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘घाँ’ खेल अलि खतरनाक भएकाले हामी सबैलाई उक्त खेलमा समावेश गर्दैनौँ, पोख्त र युवालाई खेल्न दिन्छौँ ।” डोटीमा हुने भाँवा नाच हेर्न छिमेकी डडेल्धुराका बासिन्दा पनि आउने गर्छन् । जिल्ला बाहिर तथा ग्रामीण क्षेत्रबाट पनि खेल हेर्न आउने भएकाले उक्त खेल झन् रोचक तथा रमाइलो हुने गरेको स्थानीयवासी बताउँछन् ।