तपाईँ सुन्दै हुनुहुन्छः

बेलौरी उद्योग वाणिज्य संघको निर्वाचन अधिंकास टेक बहादुर प्यानल विजयी

कञ्चनपुर । कञ्चनपुरको बेलौरी उद्योग वाणिज्य संघको निर्वाचनमा टेक बहादुर साउँदको अधिंकास प्यानल निर्वाचित भएको छ ।
संघको दोस्रो कार्यसमितिको लागि टेक बहादुर साउँद र लक्ष्मी नारायण चौधरी गरी दुई प्यानलमा निर्वाचन भएको थियो ।

७ जना पदाधिकारी र ८ जना सदस्य गरी १५ जनाका लागि भएको निर्वाचनमा साउँद प्यानलबाट ७ जना पदाधिकारी र ७ जना सदस्य गरी १४ जनाको उम्मेदवारी रहेको थियो ।

जसमध्ये ७ जना पदाधिकारी र ५ जना सदस्य गरी १२ जना निर्वाचित भएका छन् । त्यस्तै, लक्ष्मी नारायण चौधरी नेतृत्वको प्यानलमा ७ जना पदाधिकारी र ८ जना सदस्य गरी १५ जनाको उम्मेदवारी रहेको थियो । जसमध्ये ३ जना सदस्य मात्रै निर्वाचित भएका छन् ।
बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मी नारायण चौधरीलाई १सय २ मतान्तरले पराजित गर्दै टेक बहादुर साउँद निर्वाचित हुनुभएको प्रमुख निर्वाचन आयुक्त लक्ष्मण खरेलले जानकारी दिनुभयो ।

साउँदले जम्मा ४ सय ५६ मत पाउनु भएको हो भने चौधरीले ३ सय ५४ मत पाउनु भएको हो । त्यस्तै, बरिष्ठ उपाध्यक्षमा प्रकाश राज पन्त (३१९) लाई पछि पार्दै हिरा सिंह बिष्ट (४७१) निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, उद्योग उपाध्यक्षमा जनक बहादुर चौधरी (१३७) लाई पछि पार्दै खडक शाह (१६१) निर्वाचित हुनुभयो । वाणिज्य उपाध्यक्षमा भने रघुबीर भण्डारी (२०४) लाई जल बहादुर चौधरी (२८६) ले पराजित गर्नुभएको छ । महासचिवमा शिव राज कँडेल (४३१) पुनः निर्वाचित हुनुभएको छ । कँडेलले दुलारे राना (३५६) लाई पराजित गर्नुभएको हो ।

त्यस्तै, बेलौरी उद्योग वाणिज्य संघको सचिवमा भारी मतान्तरले रिता चौधरी निर्वाचित हुनुभएको छ । उहाँले ५ सय ६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी चन्द्रकला चन्दले २ सय ८४ मत पाउनु भएको हो । कोषाध्यक्षमा राज बहादुर चौधरी (३६०) लाई पराजित गर्दै अमित शर्मा भट्टराई (४२३) निर्वाचित हुनुभएको छ । निर्वाचित सबै पदाधिकारी साउँद प्यानल कै रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा चौधरी प्यानलका महेश राज जोशी (३९२), बसन्त पुन मगर (४२४) र धनी राम राना (४८५) गरी तीन जना निर्वाचित हुनुभएको छ । बाँकी सदस्य सबै साउँद प्यानलकै रहेका छन् । निर्वाचित हुने अन्य सदस्यहरुमा हरिप्रसाद खरेल (३९८), महेन्द्र सिंह बुडाल (४०६), बिक्रम चौधरी (४२०), टेक बहादुर शाही (३६८) र जोगराम चौधरी (४२८) रहेका छन् ।

बेलौरी उद्योग वाणिज्य संघको प्रांगणमा आइतबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म शान्तिपूर्ण मतदान भएको थियो । जम्मा ८७.५ प्रतिशत मतदाताले मतदान गरेका थिए । जम्मा ९ सय ५२ जना मतदाता रहेकोमा उद्योग तर्फ ३१६ जना र वाणिज्य तर्फ ५१७ जना गरी जम्मा ८३३ जनाले मतदान गरेको प्रमुख निवार्चन आयुक्त लक्ष्मण खरेलले जानकारी दिनुभयो । सोमबार दिउँसो देखि शुरु भएको मत गणना कार्य राति करीब १०ः३० बजेतिर सम्पन्न भएको हो ।

अध्यक्ष पदका दुवै उम्मेदवारहरुले यसअघि अध्यक्ष पदमै तीनतीन वर्षे कार्यभार सम्हालिसक्नु भएको छ । यसअघि २०७३ कार्तिक २७ गते सम्पन्न बेलौरी उद्योग वाणिज्य संंघको पहिलो कार्यसमितिको निर्वाचनबाट टेक बहादुर साउँदलाई ६१ मतले पछाडी पार्दै लक्ष्मी नारायण चौधरी अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । त्यसअघि कञ्चनपुर उद्योग वाणिज्य संघको शाखा बेलौरी रहँदा साउँदले नेतृत्व गर्नुभएको थियो । साउँदकै कार्यकालमा बेलौरी उद्योग बाणिज्य संघ स्वायत्त संस्थाका रुपमा विकसित भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button