तपाईँ सुन्दै हुनुहुन्छः

गढीमाईमा २५ हजारभन्दा बढी बोकाको बली चढाईयो

बीरगंज । बिश्वमै सबैभन्दा बढी बलि चढने मेलाको रुपमा चर्चित बाराको गढीमाई मेलामा आज विशेष गरी बोकाको बलि चढाइएको छ ।

आज विहान ३ःंं०० बजेबाट प्रारम्भ भएको बोका बली अपरान्ह २ः३० सम्म २५ हजार भन्दा बढी बोका बली चढाईएको गढीमाई पुजा व्यवस्थापन समितिका प्रवक्ता मुकेश यादवले जानकारी दिनुभयो ।

मुख्य पूजा सम्पन्न भएसँगै हिजो बिहान पञ्चबली दिइएपछि दर्शनार्थीको तर्फबाट पशुबली चढाउने कार्य सुरु भएको थियो ।

पञ्चबलीको रुपमा मुख्य पुजारीले गढीमाईलाई बोका, पाठो, परेवा, मुसा र पाडाको बली चढाएपछि हिजो पहिलो दिन सर्वसाधारण दर्शनार्थीहरुको लागि पाडा बली शुरु भएको मन्दिरका मुख्य पुजारी मंगल चौधरीले बताउनु भयो । मन्दिरका मूल पुजारी थारु समुदायका छन् ।

११ औं पुस्ताका रुपमा अहिले शिव चौधरी र मंगल चौधरी मूल पुजारीको रुपमा रहेका छन् । मूल पुजारीको घरमा पुजा सकिएपछि सोमबार रातिबाट ब्रम्हस्थानमा पूजा सुरु गरिएको थियो । त्यहाँ पूजा सकिएपछि माईको मन्दिर अगाडी रहेको पुरानो त्रिशुल हटाएर नयाँ फेरिएको थियो । त्यसपछि मन्दिर अगाडीकै ब्रम्हस्थानमा हिजो बिहान पञ्चबली दिइएको थियो । गढीमाईलाई हाँस, कुखुरा, सुँगुर लगायत अन्य विभिन्न पशुपंक्षिको समेत पशुबली दिइन्छ ।

मंसिर १ गतेदेखि सुरु भएको मेलामा मंगलबार र बुधबार दुई दिन पशुबली दिने कार्यक्रम राखिएको छ । मेलामा हिजो राँगा र आज बोका, हाँस र कुखुराको पशुबली दिने भनिएपनि दर्शनार्थीहरुले हिजै देखि आ–आफ्नो ढंगले बली दिएका छन् । पसाहा खोलादेखि गढीमाई मन्दिरसम्म नदी किनार तथा खेतमा दर्शनार्थीहरुले पशुबली दिएका छन् । गढीमाई मन्दिर बाराको महागढीमाई नगरपालिका अन्तर्गत बरियारपुर गाउँमा पर्दछ ।

बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईको मेला हरेक पाँच–पाँच वर्षमा मंसिर शुक्ल सप्तमीदेखि आरम्भ हुन्छ । मेलामा लाखौंको संख्यामा दर्शनार्थीको भिड रहेको छ । हिजो र आज मुख्य पूजाको दिन भएकाले भिड थामीनसक्नु रहेको गढीमाई मुल पुजा समितिले जनाएको छ ।

बरियारपुरदेखि कलैयासम्म गढीमाई जाने आउने भक्तजनको घुँईचो छ । गढीमाई मेला नेपालका विभिन्न स्थानबाट मात्रै नभएर भारतबाट समेत लाखौंको संख्यामा भक्तजन आएका छन् । सीमावर्ती सहर रक्सौल, आदापुर, घोडासहन लगायत विहार राज्यका विभिन्न स्थानबाट भक्तजन मेलामा आएका छन् ।

गढीमाई मेलामा दुई दिनमा १५ लाख भन्दा बढी दर्शनार्थी मन्दिरमा आएको गढीमाई मन्दिर मुल व्यवस्थापन समितिले जनाएको छ । आज बोका बली आ–आफ्नो भाकल पुरा गर्न दर्शनार्थीले झन्डै २५ हजार भन्दा बोकाको बलि चढेको गढीमाई मन्दिर मुल व्यवस्थापन समितिका प्रवक्ता मुकेश यादवले बताउनु भयो ।
आज पसाहा खोलादेखि गढीमाई मन्दिरसम्म नदी किनार तथा खेतमा दर्शनार्थीहरुले पशुबली जता पनि दिन मिल्ने व्यवस्था मिलाइएको छ ।

पाँच वर्षे मेलामा नेपाल र भारतका भक्तजनले पशुपंक्षी बलि चढाउने परम्परा रहिआएको छ । गढीमाई मन्दिरको झण्डै ३ किलोमिटरको आसपासमा चौतर्फी रुपमा आज विहानदेखि गढीमाईको नाममा बोका बलि चढाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button