तपाईँ सुन्दै हुनुहुन्छः

चार सय के भि प्रसारण लाईन विस्तारमा स्थानीयको असन्तुष्टि

मकवानपुर । चार सय के भि अन्तरदेशीय प्रसारणलाइनअन्तर्गतको मकवानपुरको हेटौंडादेखि नुवाकोटको रातोमाटे सबस्टेशनसम्मको प्रसारण लाइन विस्तारको लागि गरिएको रेखाङ्कनप्रति हेटौंडाका प्रभावित स्थानीयहरुले असन्तुष्टी जनाएका छन् । स्थानीयको सहमति नै नलिई टावर निर्माणको लागि बस्तीको बीचमा रेखाङ्कन भइरहेको भन्दै उनिहरुले आपत्ति जनाएका हुन् ।

हेटौंडा–११ मा रहेको सवस्टेशनबाट हेटौंडा–३, १, १९ नम्बर वडा हुँदै कैलाश, थाहा नगरपालिका र राक्सिराङ गाउँपालिका हुँदै विस्तार हुने प्रसारण लाइनको रेखाङ्कन वैज्ञानिक र अव्यवहारिक भएको स्थानीयको भनाई छ । अमेरिकी सहयोग कार्यान्वयन गर्न सरकारले बनाएको मिलेनियम च्यालेन्स एकाउन्ट नेपाल (एमसिए)ले हेटौंडामा आयोजना गरेको सार्वजनिक सुनुवाईमा सहभागी हेटौंडाका स्थानीयले टावर निर्माणको लागि गरिएको रेखाङ्कन परिवर्तन गर्न आग्रह गरेका हुन् ।

प्रसारण लाइनको अहिलेको रेखाङ्कनले ठूलो क्षेत्रमा असर पर्ने भन्दै उनिहरुले वनको सीमा र नदी उकासको जग्गाको छेउबाट प्रसारण लाइन लैजानुपर्ने बताएका छन् । प्रसारण लाइन विस्तार गरिँदा धेरै स्थानीय घरबारबिहीन हुने तथा निजी जमिन पनि धेरै ओगट्ने भएका कारण वैकल्पिक मार्ग प्रयोग गर्न उनिहरुले सुझाव दिए । स्थानीयसँग प्रयाप्त छलफल र सहमति नगरी जबरजस्ती काम अघि बढाइए स्थानीयले प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

प्रयाप्त छलफल नै नगरी प्रसारण लाइन बिस्तारको लागि भन्दै निजी जग्गामा किला गाड्ने काम भएको भन्दै उनिहरुले आपत्ति जनाए । आयोजनाले २३ मिटर चौडा मात्र अधिग्रहण गर्ने भनिएको तर, विद्युत्को असर ४६ मिटर वरपरसम्म पर्ने भएकाले मानव बस्तीमा विद्युत् प्रसारणबाट धेरै ठूलो असर पुग्ने देखिएको उनिहरुको भनाइ थियो । आगामी असार महिनादेखि प्रसारण लाइन विस्तारको काम थाल्ने जनाएको मिलेनियम च्यालेन्जले वातावरणीय प्रभाव मूल्यांकनको मस्यौदा प्रतिवेदनमाथि स्थानीयसँग छलफल गरेको हो ।

हेटौंडादेखि रातोमाटेसम्मको प्रसारण लाइनको लम्बाई ५६ किलोमिटर हुनेछ भने यसबीचमा एक सय ४० वटा टावर रहने मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालका वातावरण विज्ञ प्रकाश बस्नेतले जनकारी दिए । धादिङ हुँदै जाने प्रशारण लाइन क्षेत्रमा १३ वटा सामुदायिक वन पर्दछन् ।

हेटौंडा उपमहानगरपालिकाको तीन वटा वडाको मात्र करिब ३१ हजार जनसंख्या प्रभावित हुने आयोजनाले जनाएको छ । हेटौंडा क्षेत्रमा १२ दशमलव २ किमि लम्बाई रहनेछ भने ३३ वटा टावर राखिनेछ । हेटौंडा क्षेत्रमा मात्र ८ वटा आवासीय तथा गैरआवासीय भवनमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको वातावरणीय प्रभाव मूल्यांकनका विज्ञ मधुकर खड्काले जानकारी दिए ।

उनका अनुसार प्रसारण लाइनका कारण हेटौंडा उपमहानगरपालिका क्षेत्रका ५ सामुदायिक वनमा प्रभाव पर्नेछ । लेवट सामुदायिक वन, बसामाडी सामुदायिक वन, चक्रदेवी सामुदायिक वन, नवलपुर सरस्वती सामुदायिक वन र डाङडुङे सामुदायिक वन क्षेत्रबाट प्रसारण लाइन लगिनेछ । वन क्षेत्रमा १२ दशमलव १७ र निजी क्षेत्रको ४३ दशलमव ८८ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button