तपाईँ सुन्दै हुनुहुन्छः

‘उप’भनेर हेरिने दृष्टिकोण बदल्नुपर्छ

चिप्लेढुङ्गा-सात प्रदेशका उपसभामुखले सङ्घीयता कार्यान्वयनसँगै यसको संस्थागत विकास गर्न आफूहरुले भूमिका खेलिरहेको बताउँदै उप भनेर हेरिने दृष्टिकोण विभेदयुक्त भएको गुनासो गर्नुभएको छ ।

पोखरामा अन्तर प्रदेशसभा अनुभव आदानप्रदान तथा अन्तक्र्रिया कार्यक्रममा पोखरा आउनुभएका सातै प्रदेशका उपसभामुखले आफ्नो २० महिने कार्यकालको अनुभव सुनाउँदै रासससँगको कुराकानीमा सो कुरा बताउनुभएको हो । उहाँहरुले नयाँ सङ्घीय संरचनाअन्तर्गत उपसभामुखको जिम्मेवारी सम्हालेर कार्य सम्पादन गरिरहेको भन्दै उपसभामुखको भूमिकालाई गौण ठान्न नहुने प्रतिक्रिया दिनुभयो ।

प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले उपसभामुखको पदलाई एउटा अवसरको रुपमा लिएर अघि बढेको बताउनुभयो ।  उहाँले उपसभामुख सक्रिय हुँदा सभामुखलाई अप्ठे्यारो हुने हो कि जस्तो देखिने र खुम्चिँदा भूमिका नभएजस्तो देखिने गरेको बताउँदै आफ्नै अधिकारको क्षेत्र बुझेर अघि बढ्दा सहज हुने बताउनुभयो ।

प्रदेश नं २ का उपसभामुख उपमाकुमारी देवले महिलालाई मुख्य भनिने पदमा भन्दा उपमा सीमित गर्ने र त्यसरीनै बुझ्ने प्रवृत्ति भएको गुनासो गर्नुभयो । उपसभामुखलाई सक्रिय र चलायमान गराउन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले असहजतमा सहजता खोजेर आफ्नो जिम्मेवारी बहन गरेको बताउनुभयो ।

मुख्य कुरा नयाँ सङ्घीय व्यवस्थालाई संस्थागत गरेर समावेशी र समानतामूलक समाज स्थापित गर्न भूमिका खेल्ने देवले बताउनुभयो । प्रदेश नं ५ का उपसभामुख कृष्णी थारुले नयाँ संरचनामा प्राप्त जिम्मेवारीलाई कानूनसम्मत अघि बढ्न पक्कै कठिनाइ भएको सुनाउनुभयो ।

“विधि प्रक्रिया बुझेर मर्यादित तरिकाबाट संसद् सञ्चालन विधि बुझ्दै गयाँै र आफ्नो जिम्मेवारीलाई कसरी प्रभावकारीरुपमा बहन गर्ने भन्ने कुरा सिक्दै गयौँ”, उहाँले प्राप्त जिम्मेवारीलाई प्रभावकारीरुपमा अघि बढाउने प्रयासमा रहेको बताउनुभयो । प्रदेश सञ्चालन नियमावली बनाएर उपसभामुखलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने कुरामा पनि छलफल भएको उहाँले बताउनुभयो ।

अवसर र जिम्मेवारीले नै मानिसको व्यक्तित्व विकास गर्दै लैजाने भएकाले आफ्नो जीवनमा नयाँ अनुभव थपिँदै गएको उहाँको भनाइ छ । प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले शुरुका दिनमा संसद् सञ्चालन गर्ने चुनौतीजस्तो लागे पनि निरन्तरको अभ्यासले अभ्यस्त बनाएको बताउनुहुन्छ । सभामुखको भूमिका सँगसँगै उपसभामुखको पनि सक्रियतामा संसद्लाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको उहाँको भनाइ थियो ।

उपसभामुख तामाङ् भन्नुहुन्छ “बाहिरबाट सहज देखिए पनि संसद्मा सभामुख र उपसभामुखको भूमिका महत्वपूर्ण हुन्छ । त्यो भूमिका निर्वाह गर्न सफल भयाँै । सभामुखको अनुपस्थितिमा उपसभामुखले नै जिम्मेवारी पूरा गर्नुपर्ने भए पनि कानूनतः देखिएका केही कठिनाइले उपसभामुखको भूमिका गौण भएको हो ।” सङ्घीयताको मर्मअनुरुप आफ्नो भूमिकालाई प्रभावकारी बनाउने अर्को दायित्व पनि आएको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button