तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार न्युनिकरणका लागि पाँच बर्षे रणनीतिक योजना सार्वजनिक

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण सम्बन्धी आगामी पाँच बर्षे रणनीतिक योजना आज सार्वजनिक गरेको छ । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्दर्भ पारेर आयोगले आफनो संस्थागत रणनीति योजना सार्वजनिक गरेको हो ।

रणनीतिक योजना नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अख्तियारमा सोमवार आयोजित विशेष समारेहका बीच सार्वजनिक गर्नु भएको हो ।

आर्थिक बर्ष २०७६। ७७ देखि आर्थिक बर्ष २०८०।८१ सम्मका लागि जारी गरिएको रणनीतिक योजनाले भ्रष्टाचारलाई निरोधात्मक,उपचारात्मक, संस्थागत क्षमता विकास र प्रर्वद्धनात्मक कार्यक्रमहरुको माध्यमबाट अघि बढाउने लक्ष्य लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयूक्त नविनकुमार घिमिरेले जानकारी दिनुभयो ।

रणनीतिक योजनाले मुलुकको अहिलेको भ्रष्टाचारको अवस्थाको विश्लेषण गर्दै गर्दै गत तेस्रो रणनीतिक योजनाको समीक्षा समेत गरिएको छ ।

रणनीतिले भ्रष्टाचारजन्य कार्यको पहिचान,अनुसन्धान र अभियोजन जस्ता कार्यलाई प्रभावकारी रुपले संचालन गर्ने र त्यसका लागि आधुनिक प्रविधिको उपयोगबाट अनुसन्धान र अभियोजन पद्दतीलाई वस्तुनिष्ठ र विश्वसनीय बनाउने नीति लिएको छ ।

त्यसैगरी भ्रष्टाचार निगरानी प्रणालीको विकास गरी अनुसन्धान एवं निगरानी गर्ने, भ्रष्टाचारसंग सम्बन्धीत सबै किसिमका सूचना व्यवस्थापन तथा इन्टेलिजेन्स संयन्त्रलाई सुदृढ गर्ने लगायतका विभिन्न १२ वटा नीतिहरु अघि सारेको छ । आयोगले रणनीतिक योजनाको कार्यान्वयनका लागि अघि सारेका नीतिहरुको कार्यान्वयनका लागि विभिन्न ६६ वटा कार्यनीति समेत अघि सारेको छ ।

नीति र रणनीतिको कार्यान्वयनबाट आगामी ५ बर्षमा भ्रष्टाचार अनुभूति सूचकांकमा १० अंक वृद्धि हुने, सदाचार नीति लागू भएको हुने, भ्रष्टाचार निवारण ऐनमा परिमार्जन हुने र सबै प्रदेश तथा स्थानीय सरकारहरुको योजनामा भ्रष्टाचार न्यूनिकरण सम्बन्धी विषय समावेश हुने अपेक्षा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button