२०७६ साल माघ १५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

स्थायी कमिटी बैठक मंसिर २९ गते बोलाउने नेकपा सचिवालयको निर्णय

अर्जुन श्रेष्ठ २०७६ मंसिर २३ गते १८:१२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक आगामी मंसिर २९ गते बोलाउने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले मंसिर २७ गते र स्थायी कमिटी बैठक २९ गते बोलाउने निर्णय गरेको हो ।

आजको बैठकले पार्टीको विधान संशोधन गर्ने र त्यसका लागि आगामी स्थायी कमिटी बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गर्नुका साथै उपनिर्वाचनको पूर्ण प्रतिवेदन पेश गर्न ५ दिनको समय अवधि समेत थप गरेको छ ।

बैठकमा संगठन विभागका तर्फबाट पेश भएको कार्ययोजनामा छलफल भएको र सचिवालयको सुझावसमेत समेटेर आगामी बैठक पेश गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले केही जिल्लामा पार्टीको संगठनात्मक क्षेत्रमा देखिएको समस्या समाधानका लागि केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

सचिवालय बैठकले पार्टीको कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्नुका साथै पार्टीको केन्द्रीय विभाग र आयोगलाई पूर्णता दिने विषयमा ७ दिनभित्र प्रस्ताव पेश गर्न विभाग र आयोगका प्रमुख एवम् उपप्रमुखहरुलाई निर्देशन समेत दिएको छ ।