तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आयोग पदाधिकारीद्वारा भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज निर्वाचन आयोगका पदाधिकारीले भेट गरी राष्ट्रियसभाका रिक्त सदस्य पदको निर्वाचनका विषयमा परामर्श गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा आगामी माघ ९ गते राष्ट्रिय सभाको निर्वाचनगर्न उपयुक्त हुने सुझाव दिइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

यसअघि राष्ट्रिय सभा निर्वाचनका विषयमा आयोगमा आज आयोजित राजनीतिक दलहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको तयारीका लागि कम्तीमा पनि ३५ देखि ४० दिन लाग्ने हुँदा सरकारलाई आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचनका लागि मिति घोषणा गर्न परामर्श दिन लागेको बताउनुभएको थियो ।

छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपनिर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा आयोगप्रति धन्यवाद ज्ञापन गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि सरकार र नेकपाका तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो ।

निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था रहेको छ ।५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सदस्यको आगामी फानुन २० गते पदावधि सकिँदैछ ।

तीमध्ये १८ जना निर्वाचनका माध्यमबाट चयन हुनेछन् भने एक सदस्यको सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत गर्ने व्यवस्था छ । पदावधि सकिनु ३५ दिनअघि नै सम्पूर्ण निर्वाचनसम्बन्धी कार्यक्रम पूरा गर्नुपर्ने कानूनी व्यवस्था छ ।

निर्वाचनका लागि प्रदेशसभा सदस्य, गाँउपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको निर्वाचन मण्डल रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button