तपाईँ सुन्दै हुनुहुन्छः

साग भव्य रुपमा सम्पन्न

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नेपालमा भव्य रुपमा सम्पन्न भएको छ ।

सम्पन्न सागमा ५१ स्वर्णसहित नेपाल दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

आजै सम्पन्न पुरुषतर्फको फुटबलमा नेपाललाई स्वर्ण पदक प्राप्त गरेसँगै नेपालको स्वर्ण पदक संख्या ५१ पुगेको हो ।

दक्षिण एशियाली खेलकूदको समापन समारोहलाई भिडियो कन्फ्रेन्शबाट सम्बोधन गनूहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली खेलकूद साग नेपालका लागि ऐतिहासिक रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले साग सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद दिनुभयो र सागको सफल आयोजनाबाट दक्षिण एशियाली देशहरुबीच एकता र मित्रता अभिवृद्धि गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्षको तयारी भईरहेका सन्दर्भमा नेपालमा सागको आयोजनाले यसलाई सफल बनाउन मद्धत पुगेको विश्वास व्यक्त गर्दै यसमा योगदान गर्न सहभागी देशहरुलाई र खेलाडीहरु आग्रह गर्नुभयो ।

समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरलेले सागको सफलताबाट नेपालले अगाडि सारेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन टेवा पुर्याएको बताउनुभयो ।

समापन समारोहमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस पटकको साग प्रतियोगितामार्फत दक्षिण एशियाली मुलुकका जनताबीच हार्दिकता र मित्रता कायम भएको बताउनुभयो ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेश सिलवालले १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) छोटो समयको तयारीमा ऐतिहासिक र भव्य रूपमा सम्पन्न भएको बताउनुभयो ।

प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर १५ गते उद्घाटन गर्नुभएको थियो ।

छब्बीस खेल विधामा ३२० स्वर्ण, त्यतिकै सङ्ख्यामा रजत र ४८१ काश्य पदकका लागि काठमाडौँ, पोखरा र जनकपुरमा प्रतियोगिता सञ्चालन भएको थियो ।

सागलाई सफल तुल्याउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको थियो । सन् १९८४ मा स्थापना भएको सागको १३ औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको थियो ।

सन् १९८४ मा पहिलोपटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button