तपाईँ सुन्दै हुनुहुन्छः

झापाको राजगढमा सशस्त्र प्रहरीको ‘बीओपी’ स्थापना

झापा, भद्रपुर । भारतसँग सिमाना जोडिएको झापाको राजगढस्थित भागुडुब्बामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।

सीमा पारिबाट हुने सीमा अतिक्रमण, अवैध निकासी–पैठारी, लागुऔषध ओसार–पसार, सिमानाको फाइदा उठाउँदै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले भारतको दिगल बैंकसँगको सीमामा बीओपी स्थापना गरिएको हो । बीओपी स्थापना गरिएको स्थानबाट लगभग पाँच किलोमिटरको दूरीमा भारतसँगको सिमाना भेटिन्छ ।

एक वर्षअघि निर्माण शुरु भएको बीओपी भवनको आज एक समारोहका बीच प्रदेश नं १ का आर्थिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नुभएको छ । प्रदेश सरकारकै बजेटबाट बीओपी भवन निर्माण गरिएको हो ।

बीओपी भवनको उद्घाटनपछि समारोहलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथि मन्त्री कार्कीले जनताको सुरक्षा र सीमाको रक्षाका लागि प्रदेश सरकारले कुनै कसर नराख्ने बताउनुभयो । उहाँले प्रदेशका बिभिन्न सीमाक्षेत्रका नेपाली गाउँ–बस्तीको सुरक्षाका लागि शसस्त्र प्रहरीको बीओपीहरु स्थापना गर्दै लगिने पनि जानकारी दिनुभयो ।

प्रदेश १ झापा, मोरङ र सुनसरीका सीमावर्ती ३७ स्थानमा बीओपीका भवनहरु निर्माणको प्रक्रियामा रहेको बताउँदै अहिले झण्डै ७ किलोमिटरको दूरीमा रहेका बीओपीहरुलाई तीन किलोमिटरको दूरीमा छोट्याउने योजना रहेको उल्लेख गर्नुभयो ।¬¬ झापामा ८ वटा बीओपी रहने बताइएको छ ।

मन्त्री कार्कीले आवश्यकता अनुसार बीओपी स्थापना गर्दै लगिने बताउँदै त्यसका लागि स्थानीय तह वा स्थानीयवासीले जग्गा उपलब्ध गराए तत्काल प्रदेश सरकारबाट बजेटको व्यवस्था हुनसक्ने पनि स्पष्ट पार्नुभयो ।

सशस्त्र प्रहरी बल नेपाल १ नं बराह वाहिनी सुनसरीका वाहिनीपति नगेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पूर्व मन्त्री टेकनारायण राजवंशी, संविधानसभा सदस्य हरि राजवंशी, प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशी, बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीलगायते विकासले निकैपछि परेको भागुडुब्बामा बीओपी स्थापना भएको खुशी व्यक्त गर्नुभयो ।

डेढ दशकअघि भारतीय डाकाहरुबाट आफ्नो घरमा भएको डकैतीको पीडा सहेर पनि समाजको उन्नयनमा लाग्दै आउनु भएकी सुशीलादेवी राजवंशीले निःशुल्क रुपमा पाँच कट्ठा जग्गा उपलब्ध गराउनु भएपछि स्थापना भएको बीओपी भवन एक करोड ६१ लाख ७९ हजार रुपैयाँ लागतमा निर्माण भएको हो ।

सो पोष्टमा प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टुकडी रहने सो पोष्टअन्तर्गतको हेडक्वार्टर सशस्त्र प्रहरी बल नेपाल २ नं गण हेडक्वार्टर झापाका प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले जानकारी दिनुभयो ।

हाल बाह्रदशी गाउँपालिकाको वडा नं १ मा पर्ने भागुब्बा क्षेत्रका बासिन्दा वर्षौंदेखि डकैतीको र चौपाया चोरीका घटनाहरुबाट पीडित हुँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button