तपाईँ सुन्दै हुनुहुन्छः

‘संविधानमा लेखिएका कुरा कार्यान्वयनमा आउनुपर्छ’

सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्यहरुले संविधानमा लेखिएका कुरा कार्यान्वयन आउनुपर्नेमा जोड दिएका छन् । ‘ख्रीष्टमस तथा नववर्ष २०२०’को पूर्वसन्ध्यामा इसाई समाज सुर्खेतद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले संविधानमा लेखिएका कुरा कार्यान्वयनमा नआएका कारण विभिन्न जाति, भाषा, धर्म र संस्कृतिमा आस्था राख्नेहरुलाई कठिनाइ भएको बताउनुभयो ।

“आस्थाका आधारमा कसैलाई होच्याउन पाइँदैन,” अध्यक्ष नेपालीले भन्नुभयो, “सबै धर्मलाई सम्मान गर्नुपर्छ ।” विभेद् र विभिन्न हिसाबले पछाडि परेका धार्मिक, भाषिक र अल्पसङ्ख्यकको हितमा आगामी दिनमा संसद्मा आवाज उठाउने उहाँको भनाइ थियो ।

कार्यक्रममा कर्णाली प्रदेशसभा सत्तापक्षका सचेतक सीताकुमारी नेपालीले धर्मलाई विज्ञानसँग जोडेर जानुपर्नेमा जोड दिँदै संविधानको मर्मअनुसार मुलुकअघि बढ्नुपर्ने धारणा राख्नुभयो । प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले शान्तिप्रिय नागरिक हुन पाउनु इसाई धर्मावलम्बीको नैसर्गिक अधिकार हो भन्नुभयो ।

त्यसैगरी प्रदेशसभा सदस्यद्वय रातो कामी र पद्मका खड्काले एकले अर्को धर्मलाई सम्मान गरी आपसी एकता कायम गरे मात्र मुलुकको विकास र समृद्धिमा सहयोग पुग्ने औँल्याउनुभयो । प्रदेशसभा सदस्य दानसिंह परियारले व्यक्तिको धर्म भए पनि राज्यको धर्म नहुने तर्क गर्दै समाजमा भएको अन्याय, असमानता र विभेद्का विरुद्ध आफूले बोल्दै आएको बताउनुभयो । कार्यक्रममा डा बालकृष्ण शर्मा र इसाई समाज सुर्खेतका अध्यक्ष पदम गैरेले धर्म, धर्मनिरपेक्षता, त्यसको विश्वव्यापी मान्यता, संविधानको मूल मर्म, देवानी फौजदारी हिता र लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्ष राज्यमा इसाइहरुले भोग्नुपरेका समस्याका बारेमा बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button