तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेशबीच कानून र सुरक्षामा समन्वय जरुरी छ’ : मन्त्री हिक्मतकुमार कार्की

विराटनगर। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कानून निर्माण एवं सुरक्षा सुदृढ गर्नु सबै प्रदेशबीच समन्वय जरुरी रहेको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित कानून र सुरक्षासम्बन्धी अन्तरप्रदेश अनुभव आदानप्रदान कार्यक्रममा उहाँले मुलुकमा सुशासन कायम गर्न आवश्यक पर्ने कानून निर्माणमा सबै प्रदेशको अनुभव उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।

विगत २२ महिनाको प्रदेश सरकारले हासिल गरेको उपलब्धि सबै प्रदेशलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मन्त्री कार्कीले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रबाट सुरक्षाको क्षेत्रमा हासिल गरेको उपलब्धि जनतालाई अनुभूति गराउन एक अर्कामा अनुभव आदानप्रदान गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेशका ११ लाख घरधुरीलाई प्रहरी स्टिकर टाँस्ने, जिल्ला प्रहरी कार्यालयमा महिला प्रहरीलाई पोसाक परिवर्तन कक्षको निर्माण, सुरक्षा निकायका ५१ वटा संरचना निर्माण आदि गरी जनतासमक्ष सुरक्षाको पहुँच पु¥याएको बताउनुभयो ।

मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सबै प्रदेशबीच साझा चासो, आपसी समन्वय, कानून र सुरक्षासम्बन्धी समन्वय गर्नु कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक ममिला तथा कानूनमन्त्रीहरु प्रदेश नं २ का ज्ञानेन्द्रकुमार यादव, प्रदेश नं ३ का शालिग्राम जमरकट्टेल, गण्डकी प्रदेशका हरिबहादुर चुमाङ, प्रदेश नं ५ का कुलप्रसाद केसी र सुदूरपश्चिम प्रदेशका प्रकाशबहादुर शाहको सहभागिता रहेको छ ।

सबै प्रदेशका मुख्य महान्याधिवक्ता, आन्तरिक मामिला कानून मन्त्रालय सचिव, प्रदेशका कानून, मन्त्रालयका उच्चस्तर कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग प्रदेश प्रमुखको सहभागिता थियो । छलफलपश्चात् अनुभवको निष्कर्ष सार्वजनिक गरिने सोही अवसरमा जानकारी दिइयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button