तपाईँ सुन्दै हुनुहुन्छः

८० अर्ब ७१ करोड राजस्व संकलन

बीरगंज । मुलुकको प्रमुख भन्सार नाका बीरगंज भन्सार कार्यालय तथा सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयल बीरगंजले चालु आर्थिक बर्षको पाँच महिनामा ८० अर्ब ७१ करोड ३५ लाख राजस्व संकलन गरेको छ ।

लगातार रुपमा बीरगंज नाकाबाट आयात घटेपछि बीरगंज भन्सार र सिर्सिया सुख्खा बन्दरगाह भन्सारको राजस्व संकलन लक्ष्यभन्दा कम भएको छ ।

बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्षको पाँच महिनामा ६४ अर्ब ३५ करोड, आठ लाख ३० हजार राजस्व संकलन गरेको छ ।

अर्थमन्त्रालय भन्सार विभागले बीरगंज भन्सारलाई पाँच महिनामा ९७ अर्ब ५२ करोड ६५ लाख १६ हजार राजस्व संकलनको लक्ष्य तोकेकोमा लक्ष्यको ६६ प्रतिशत मात्र राजस्व संकलन भएको बीरगंज भन्सारका सूचना अधिकारी बिमल साहले जानकारी दिनुभयो ।

बीरगंज भन्सारका अनुसार सवारी साधन तथा इन्धनको आयातमा गिरावट आएपछि राजस्व घटेको हो ।

त्यसैगरी सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले मंसिर महिना सम्म १६ अर्ब ३६ करोड २७ लाख ४३ हजार रुपैया राजश्व संकलन गरेको छ ।

भन्सार विभागले यस अवधिमा १८ अर्ब ३८ करोड ७३ लाख ९८ हजार रुपैया राजश्व संकलनको लक्ष्य तोकेकोमा लक्ष्य भन्दा १० प्रतिशत कम राजस्व उठेको सिर्सिया बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताउनुभयो ।

राजश्व संकलनको दृष्टिले सिर्सिया सुख्खा बन्दरगाह भन्सार मुलुककै उत्कृष्ट ५ भन्सार कार्यालय भित्र पर्दछ । भारतीय रेल्वे सन्जालसंग जोडिएको यो भन्सार कार्यालयमा भारतको कोलकाता, हल्दिया र बिशाखापटनम बन्दरगाहबाट सोझै मालबाहक रेल आउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button