तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा दुई वर्षीय बालकको शव बीभत्स अवस्थामा फेला, चितुवाले खाएको आशङ्का

तनहुँ । तनहुँको शुक्लागण्डकीमा आइतबार साँझदेखि हराएका बालकको शव बीभत्स अवस्थामा मृत फेला परेको छ ।

शुक्लागण्डकी –३ रातमाटाका दुई वर्षीय बालक रविन नेपालीको शव घरदेखि करिब दुई कि.मि माथि ढाङढुङ्ग ठुलोपाखा श्यामपोखरी सामुदायिक वनमा फेला परेको हो ।

शवको प्रकृति हेर्दा चितुवाले खाएको हुन सक्ने आंकलन गरिएको उदेनढुङ्गा टोल विकास समितिका अध्यक्ष गोकर्ण पुवरले बताउनुभयो ।

बालकको टाउको छुट्टिएको, पेट तथा ढाडको मासु खाएको र घुडाँदेखि तलको भाग मात्र बाँकी रहेको अवस्थामा बालकको शव फेला पारिएको पुवरले बताउनुभयो ।

स्थानियवासी र इलाका प्रहरी कार्यालय बेलचौतराका टोलीले सोमबार बिहानैदेखि बालकको खोजी गरेका थिए । अहिले प्रहरीले शवको मुचुल्का तयार गरिरहेको बताइएको छ ।

आइतबार साँझ करिब ६ बजेको समयमा पिडिमा बसेर खाना खाइरहेका बालक घरबाटै हराएका थिए । बालकका आमा लक्ष्मी नेपाली भित्र खाना बनाएर बाहिर निस्किदाँ खाना खाइरहेका छोरा हराएका थिए ।

करिब २२ महिनाको अवधिमा चितुवाको आक्रमणमा परी तनहुँको भानु नगरपालिकामा छ जना बालबालिकाको ज्यान गइसकेको छ भने चार जना घाइते भएका छन् ।

गत बुधबार राती मात्रै व्यास– ९ स्याकुन्थोकस्थित स्याकुन्थोक सामुदायिक बनमा राखिएको फलामे खोरमा पोथी चितुवा परेको थियो । छ वटा चितुवा खोरमा परिसकेको छ । व्यास नगरपालिकामा एउटा र भानु नगरपालिकाको विभिन्न बनमा राखिएको काठको खोरमा पाँच वटा चितुवा परिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button