तपाईँ सुन्दै हुनुहुन्छः

अत्याधुनिक उपकरणसहित नेपालको सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार सेवा शुरु

भद्रपुर, झापा । अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र व्यवस्थापनसहित झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालले बुधवारदेखि सेवा शुरु गरेको छ ।

अंग्रेजी नयाँ वर्ष र भ्रमण नेपाल वर्ष २०२० को शुभारम्भको अवसर पार्दै अस्पताल सञ्चालकद्वय दुर्गा प्रसाईं र इन्दिरा गिरीले संयुक्त रुपमा अस्पतालको उद्घाटन गर्नुभएको हो ।

करिब एक विगाहा जग्गामा चार सय करोड रुपैयाँको लागतमा अस्पतालको निर्माण गरिएको हो । विर्तामोडमा रहेको बी एण्ड सी अस्पतालको भगिनी संस्थाको रुपमा अत्याधुनिक प्रविधिसहित निर्माण गरिएको क्यान्सर अस्पताललाई दक्षिण पूर्वी एशियाकै नमुना बनाएको कार्यकारी निर्देशक दुर्गा प्रसाईंले दाबी गर्नुभएको छ । उहाँका अनुसार २१औं शताब्दिकै अत्याधुनिक उपकरण अस्पतालले भित्र्याएको छ ।

यो प्रविधिको मेसिनले क्यान्सरका बिरामीलाई एक मिनेटमै रेडिएसन दिनसक्ने बताइएको छ । यो प्रविधिलाई ‘ट्रु बिम लिनियर एक्सेलेरेटर’ भनिने क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादवले बताउनुभयो ।

क्यान्सरपीडितले उपचारका लागि भारतको दिल्लीसम्म पुग्नुपरेको र धेरै खर्च लाग्ने भएकाले सहज सेवा दिन नेपालको पूर्वी क्षेत्रमा अस्पताल सञ्चालनमा ल्याइएको कार्यकारी निर्देशक प्रसाईले बताउनुभयो । भारतमा जाँदा भारु २० लाख लाग्ने उपचार सो अस्पतालमा नेपाली १० लाख रुपैयाँमै उपचार गर्न सकिने उहाँको भनाइ छ ।

अस्पतालले सेवा सुरु गरेको पहिलो दिन पहिलो सेवाग्राही झापाका २८ वर्षीय पदम मिश्रलाई निःशुल्क रेडिएसन दिइएको छ भने उहाँको क्यान्सरको सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button