तपाईँ सुन्दै हुनुहुन्छः

सीमा विवाद सम्बन्धमा राष्ट्रिय सभामा दर्ता भएको संकल्प प्रस्ताव सर्वसम्मतीले स्वीकृत

काठमाडौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका सीमा विवाद सम्बन्धमा राष्ट्रिय सभामा दर्ता भएको संकल्प प्रस्तावलाई राष्ट्रिय सभाको आजको बैठकले सर्वसम्मतीले स्वीकृत गरेको छ ।

यसअघि बैठकमा संकल्प प्रस्तावका विषयमा छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिनुहुँदै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले वर्तमान सरकार नेपालको राष्ट्रिय हितप्रति पूर्ण प्रतिवद्ध रहेको बताउनु भएको छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले गत नोभेम्बर २ मा भारतले कालापानीसहितको क्षेत्रलाई समेटेर नक्सा सार्वजनीक गरेपछि परराष्ट्र मन्त्रालयले कालापानी क्षेत्र नेपालकै हो भन्नेमा सरकार प्रष्ट रहेको र एकतर्फी नक्सा नेपाललाई मान्य नहुेन विषयको जानकारी नोभेम्बर ६ मा कुटनैतिक नोट मार्फत भारत सरकारलाई जानकारी गराएको बताउनुभयो ।

बुधबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तामा सन २०१९ मा दुई देशको सम्बन्ध राम्रो रहेको र सन २०२० दुई देशको सम्बन्ध अझ उचाइमा पु¥याउन सफल हुने भारतीय प्रधानमन्त्रीले बताउनु भएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले सीमा विवादको विषय कुटनीतिक तवरबाट समाधान गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

यसअघि सांसदहरुले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतको सीमा विवाद राजनीतिक र कुटनीतिक तहबाट वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सांसद राधेश्याम अधिकारीले सीमा विवाद प्रधानमन्त्रीको तहबाट कुटनीतिक र राजनीतिक तहबाट समाधान गर्नुपर्ने बताउनुभयो ।

सांसद खगेन्द्रप्रसाद पुरीले भारत सरकारले गत कार्तिक १६ मा प्रकाशित नक्सामाका विषयमा नेपाल सरकारले स्पष्ट धारणा राखिसकेको उल्लेख गर्नुहुदै सीमा समस्या वर्तमान सरकारले सृजना गरेको नभइ पुरानो समस्या भएकाले सबैको प्रयासबाट यसलाई समाधान गर्नुपर्ने बताउनुभयो ।

सांसद वृषेशचन्द्र लालले मुलुकको अखण्डता, सीमा सुरक्षा र राष्ट्रियता राष्ट्रिय जनता पार्टी को पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै सीमा विवादका विषयमा सरकारले गरिरहेको प्रयास सकारात्मक रहेको बताउनुभयो ।

सांसद प्रमिला कुमारीले सीमा विवादका विषयमा उच्च स्तरको एकता काएम भइसकेको हुँदा राष्ट्रिय तहबाट वार्ताका माध्यमबाट कुटनीतिक तवरले समस्या समाधान हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

सांसद जीवन वुढाले सीमा विवाद आम जनताको सरकोकारको विषय भएकाले यसलाई मुलुकको सामूहिक बहसको विषय बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रको सीमा विवाद सम्बन्धी विषयमा सांसद खिमलाल भट्टराई प्रस्तावक र सांसद सरिता प्रसाई समर्थक रहनु भई संकल्प प्रस्ताव दर्ता गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button