तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् निर्णय : चक्रपथ विस्तार परियोजनाका लागि आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति

काठमाडौँ । सरकारले चक्रपथको कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको सडक सीमा ३१/३१ मिटर कायम गरी आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही पौष १४ गतेको बैठका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चीन सरकारको सहयोगमा सञ्चालन हुने दोस्रो चरणको चक्रपथ बिस्तार परियोजनाका लागि सडकको सीमा निर्धाण गरी आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गरेको जानकारी दिनुभयो ।

मन्त्री बाँस्कोटाका अनुसार मन्त्रिपरिषद् बैठकले जलविद्युतसँग सम्बन्धित आयोजना तथा कम्पनीबाट अनुरोध भई आएका नौ वटा जलविद्युत आयोजनाको उत्पादन, प्रसारण, वितरण र बिस्तारका लागि जग्गा प्राप्ती ऐन बमोजिम जग्गा प्राप्त गर्ने र त्यसको प्रारम्भिक कारवाहीका लागि अधिकारी तोक्ने, राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस बमोजिम जगतबहादुर कार्की लगायत १३ जना व्यक्ति तथा परिवारलाई दोहोरो नपर्ने गरी १२ लाख रूपैयाँ आर्थिक सहायता तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले ऋण असुली न्यायाधिकरणको रिक्त बैंकिङ सदस्यमा नरेशराज अर्याललाई आगामी ५ वर्षका लागि पुनः नियुक्ति गर्ने, साँस्कृतिक संस्थानको अध्यक्षमा प्रेमनाथ अधिकारी र महाप्रवन्धकमा अशोककुमार राईलाई चार वर्षका लागि नियुक्त गर्ने, उपभोक्ता संरक्षण नियमावली २०७६ स्वीकृत गर्ने, प्रदेश तथा स्थानीय तहमा अन्तराष्ट्रिय विकास सहायता परिचालन मापदण्ड २०७६ स्वीकृत गर्ने, एक स्वास्थ्य रणनीति २०७६ स्वीकृत गर्ने, एकीकृत कानूनी सहायता नीति २०७६ स्वीकृत गर्ने, स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार बिकास कार्यक्रम सञ्चालन कार्यविधि २०७६ स्वीकृत गर्ने, राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि २०७६ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button